बेगनास बाट ३ सय मेगावाट विद्युत उत्पादन गर्न जाइकाले थाल्यो अध्ययन

0 29

काठमाडौं, २८ पुस। जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरा-लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ ।

प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो । त्यसबाट राष्ट्रिय प्रसारणमा कति विद्युत पठाउन सकिन्छ भनेर जाइकाले अध्ययन गर्न लागेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीपकुमार थिकेले जानकारी दिए ।

बेगनास तालको पम्प स्टोरेजको अध्ययन बढाउन जाइकासँग समन्वय गर्ने जिम्मा थिकेले पाएका छन् ।‘पिक आवर’मा करिब चार घण्टा चलाउन प्राधिकरणले उक्त आयोजना निर्माण गर्न लागेको हो । गत कात्तिकमै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणलाई आयोजनाको अध्ययन अनुमति दिएको थियो । अनुमति पाएलगत्तै जाइकाको टोलीले अध्ययन थालेको हो ।

यसअअघि विद्यूत प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपातालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

पम्पस्टोरेजको जिम्मा लिएका तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेका अनुसार गत आइतबार मात्रै जाइकाको ४ जनाको टोेलीले आयोजनाको स्थलगत अध्ययन गरेको थियो । थिकेका अनुसार पम्प स्टोरेज बनाउन प्राविधिक रुपमा सम्भव रहेको अध्ययन प्रतिवेदनले जनाएको छ । तर त्यसको आर्थिक लागतको विषय भने अध्ययन भईसकेको छैन् ।

जाइकाका एसिया प्रशान्त निर्देशक पाके इचिको नेतृत्वमा अध्ययन टोली बेगनास र रुपातालको बीचको सुन्दरी डाडाँबाट आवश्यक प्राविधिक अध्ययन गरेको थियो । ४ जनाको टोलीमा जाइकाको परामर्शदाता कम्पनी पे पावरबाट दुई जना इन्जिनियर पनि रहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको अत्यधिक माग हुने पिक आवरमा करिव ४ घण्टा चलाउने गरी पिक स्टोरेज बनाउने प्रस्ताव अघि सारेका हुन् । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्ने ब्याट्रिको रुपमा काम गर्ने छ ।

यो आयोजनाबाट ३ सय मेगावाटसम्म बिद्युत निकाल्न सकिने जाइकाको भनाई छ । तीन सय मेगावाट बिजुली निकाल्दा बेगनासको पानीको सतह तीन मिटरसम्म तल आउँने र १ सय ५० मेगावाट मात्र निकाल्दा डेढ मिटर घट्ने जाइकाले जनाएको छ ।

केही वर्षअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेट्रिक्स विभागका प्राध्यापक डा। रमेशकुमार मास्के नेतृत्वको टोलीले गरेको अध्ययनबाट उक्त आयोजनाबाट सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।