अध्यक्ष प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तार

0 35

काठमाडौं,२७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

प्रचण्डलाई भेट्न सिंह बिहीबार बिहान उनको निवास खुमलटार पुगेका थिए । दुईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सिंह प्रचण्डका राजनीतिक गुरु हुन् ।

भेटका क्रममा उनीहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्षका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए ।

भेटका क्रममा प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए । उनीहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।