राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिने सेवा खस्कियो

0 39

काठमाडौं,२४ पुस । त्रिभुवन विमानस्थलबाट उडान भर्ने र यात्रुलाई सेवा प्रदान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिने सेवा खस्किएको छ । दुईवटा बोइङमध्ये एउटा लिलामी र अर्को मर्मतका लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा राख्नु परेपछि निगमको उडान ठूलो संख्यामा कटौती गरेको थियो । सोही कारण निगमको सेवा कमजोर देखिएको हो ।

सन् २०१५ को तुलनामा २०१६ मा यात्रु बोक्ने र उडान भर्ने दुवै हिसाबले निगम पहिलो स्थानमा थियो । किनकि, दुई बोइङ र दुई एयरबसको नियमित उडानका कारण बजार विस्तार राम्रो देखिएको थियो ।तर, २०१७ मा सबै विमानको सेवा नियमित हुन सकेन । र, उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ ।

सन् २०१७ का जनवरीदेखि जुलाईसम्मको आँकडा केलाउँदा निगमभन्दा जेट एयरवेजले त्रिभुवन विमानस्थलबाट धेरै यात्रुलाई सेवा दिएको छ । विमानस्थलका अनुसार जुलाई २०१७ सम्ममा जेट एयरवेजले २१ सय १७ पटक उडान भरेको छ । र, दुई लाख ६७ हजार चार सय ६६ यात्रु ओसारेको छ ।

उक्त अवधिमा अन्तर्राष्ट्रिय उडान गर्ने निगमका विमानले दुई लाख ३० हजार एक सय १३ यात्रुलाई सेवा दिए, जुन जेट एयरवेजको भन्दा ३७ हजार तीन सय ५३ जनाले कम हो ।साथै, निगमका विमानले सन् २०१७ का सात महिनामा १८ सय १८ पटक मात्र उडान भरे ।

सन् २०१५ मा निगम नेपालबाट बढी उडान भर्नेमा तेस्रो र बढी यात्रु बोक्नेमा पाँचौं स्थानमा थियो । सन् २०१६ मा भने सबैलाई पछाडि पार्दै पहिलो बन्यो ।सन् २०१५ को शुरुसम्म निगमसँग दुई वटा बोइङ मात्र थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुई वटा एयरबस–३२० विमान थपिए । केही समयपछि नै एउटा बोइङ–७५७ लिलामका लागि राखियो । र, विमान संख्या तीनमा खुम्चियो ।

अर्को बोइङ–७५७ पनि हेभी मर्मतका लागि लामो समय सिंगापुरमा थन्किएपछि ‘मार्केट सेयर’ खस्किन पुग्यो ।सोही डरका कारण निगमले गत साउनमा भाडामा विमान लिएर भए पनि यात्रुलाई सेवा दिने नीति अगाडि सार्‍यो । तर, हवाई नीतिअनुसार १५ वर्षभन्दा पुरानो जहाज आयात गर्न नपाइने भएकाले भुटान एयरलाइन्सको विमान भाडामा ल्याउने सम्झौता रद्द गर्नु पर्‍यो ।

भुटानी एयरलाइन्सले दिन लागेको विमान उड्न थालेको १६ वर्ष आठ महिना भइसकेको थियो ।निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय कम्पनीहरुले एउटा विमान मर्मतमा जाँदा अथवा बिग्रँदा अर्कोमार्फत् सेवा दिन्छन् । तर, हामीले त्यसो गर्न सकेनौं, भाडामा पनि ल्याउन पाएनौं । त्यसैले व्यापार खस्कियो ।’

निगमले अहिले भारतका नयाँदिल्ली, मुम्बई, बैंगलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, हङकङ र संयुक्त अरब इमिरेट्सको दुबईमा उडान भरिरहेको छ ।यसअघि नयाँदिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन् । ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवतजावत गर्न बाध्य थिए । बजार विस्तार हुँदै गर्दा विमान अभावका कारण धमाधम उडान कटौती गर्न बाध्य भएको छ, राष्ट्रिय ध्वजावाहक ।