पत्रकार भीषण राईले नयाँ , ‘वाइफाइ लभ’बजारमा

0 24

काठमाडौं,८ पुस । पत्रकार भीषण राईले नयाँ प्रयोगका रुपमा फोटो उपन्यास बजारमा ल्याएका छन्, ‘वाइफाइ लभ’ । राईको दाबीअनुसार नेपालमै पहिलो पटक फोटो उपन्यासको अभ्यास भएको हो । र, यो एकैछिनमा जोडिने र चुँडिने ‘टीन एजर्स’को माया प्रेमको कथा हो ।

यसमा ‘टीन एजर्स’ पुस्ताको भावनालाई उनीहरुकै भाषा शैलीमा सचित्र उतार्ने जमर्को गरिएको छ ।

राईले यसअघि ‘हामी डिजे’ पुस्तक लेखिसकेका छन् भने ‘पहिचान’ नामको वृतचित्र पनि निर्देशन गरिसकेका छन् ।

उपन्यास लेखनको अवधारणा र ट्रेन्डबारे राईको विचार उनकै शब्दमास्

कन्सेप्ट कमिक्सबाट

शब्दमा अभिव्यक्त गरिने उपन्यासका हरफलाई सजीव बनाउँदा कस्तो होला भन्ने लाग्थ्यो । अनि त प्रयोग गरेरै हेर्न मनमा हुटहुटी पैदा भयो । यसबारे खोजी पनि गरियो । यसअघि नेपालमा यस्तो खालको फोटो उपन्यास प्रकाशित गरीएको रहेनछ । यो एउटा नौलो प्रस्तुति पनि हो ।

सानोमा ‘नागराज’देखि ‘मोटु पतलु’सम्मका कमिक्स निकै पढिन्थ्यो । फोटो उपन्यास लेख्ने अवधारणा मैले त्यसबाटै पाएको हुँ । नेपाली साहित्यमा नयाँ बहस होस् भनेर पनि यसरी नौलो अभ्यास गरेको हुँ । शब्दहरुसँगै फोटो पनि भयो भने पाठकलाई पढ्नमा रुची बढने मैले ठानेको छु ।

यसरी तयार भयो

मैले सुरुमा कथा परिकल्पना गरें । त्यसपछि कलाकारहरु सेलेक्ट गरे । यो काम फिल्म बनाएजस्तै थियो । लोकेसन पनि छनौट गरें । चलचित्रमाझैं सुटिङ पनि गरियो ।

स्क्रिप्ट नभएकाले कलाकारहरु सुटिङको क्रममा अलमलमा पनि पर्थे । किनकि मलाई आफ्नो कन्सेप्टको दृश्यमात्र चाहिथ्यो । त्यसअनुसार मात्रै तस्वीर लिनुपर्ने हुन्थ्यो । डाइलगचाहिँ पोष्ट प्रोडक्सनका क्रममा डिजाइनरले राख्ने भएकाले त्यस्तो अवस्था आएको थियो । धेरैले अचम्म पर्थे । तर, अहिले त्यसबेला गरिएको छायाँकन उपन्यासमा रुपान्तरण भएका पाउँदा कलाकार पनि दंग छन् । अहा १ कति राम्रो कन्सेप्ट भनिरहेका छन् ।

टीन एजर्सको कथा

यो उपन्यासको विषयवस्तु मुख्यतः नामैले पनि अनुमान लगाउन सकिन्छ । टिन एजर्सवीचको प्रेम पनि वाइफाइ कनेक्सन झै तुरुन्त कनेक्ट र तुरुन्त डिस्कनेक्ट हुने गरेको छ । यही विम्ब यसमा लिइएको छ ।

यसमा गाउँघरबाट राजधानी छिरेर पढ्न पसेका र राजधानीमै रहेका युवापुस्ताको जीवनशैली खोतल्ने प्रयास गरिएको छ । कसरी साथीभाइबीच एकअर्कामा धोका जन्मन्छ भन्ने कुरा सस्पेन्स ढंगले चित्रण गरिएको छ ।

भूकम्प र खर्च अभाव

यो पुस्तक तयार गर्न निकै समय लाग्यो । वीचमा आर्थिक अभावले रोकिएको पनि थियो । महाभूकम्पले पनि असर ग¥यो । शुटिङ पनि रोकिएको थियो । धेरै हण्डर खाइयो । यसलाई अपुरो छाड्नुभन्दा जसरी पनि पूरा गर्नुपर्ने अठोट गरेर काम अघि बढाइयो । पोष्ट प्रोडक्सनको काममा झन्डै एक वर्ष लाग्यो । नयाँ कन्सेप्ट भएकाले प्रकाशक, कलाकार र डिजाइनरलाई कुरा बुझाउन पनि समय लाग्यो ।

भाषा र प्रुफ तीन दर्जनभन्दा बढीपटक हेरियो । यो उपन्यास डिजाइनमा तीनजना पालैपालो खट्नुभएको थियो ।

जब पैसा सकियो

अन्तिम सुटिङ दोलखाको कालिञ्चोकमा हाइकिङको थियो । हामी त्यहाँ दुई दिन बस्यौं । फर्कदा पैसा सकियो । मैले यो कुरा कलाकार भाइबहिनी कसैलाई पनि भनिनँ । बेलुका कोटेश्वर आएपछि भाइबहिनी सबैलाई बिदा गरें । त्यसदिन उनीहरुलाई ट्याक्सी खर्च दिन नसकेकोमा अहिले पनि पछुतो लाग्छ ।

रिजर्भ गाडी भाडाको आधा रकम दिनुपर्ने थियो, बाँकी पैसा एक हप्तामा दिने शर्तमा चालकलाई आफ्नो क्यामेरा दिन म बाध्य भएँ । सुटिङका क्रममा यस्ता थुप्रै सम्झनलायक क्षण छन् । प्रेमील दृश्यमा कलाकार साँच्चै प्रेममा पनि पर्थे । कुनैबेला ‘यो त अभिनय मात्र हो’ भनेर सम्झाउनु पनि परेको थियो ।