शालिमार र युनिटेक सिमेन्टबाट निस्किएको प्रदूषणले सर्वसाधारण मर्कामा

0 17

वीरगञ्ज, २ मंसिर। शालिमार र युनिटेक सिमेन्टबाट निस्किएको प्रदूषणले सर्वसाधारण मर्कामा परेका छन् । दुईवटा सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण आसपासका दुईवटा बस्तीका बासिन्दा हैरान छन् ।

पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका ३ मा अवस्थित दुवै उद्योग प्रदूषण नियन्त्रणका लागि गम्भीर नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

शालिमार र युनिटेक सिमेन्टबाट निस्केको प्रदूषणका कारण जीतपुरसिमरा उपमहानगपालिका–६ स्थित नगौल, सिदरिया र वडा नम्बर ३ स्थित बजनीलगायतका क्षेत्रमा प्रदूषण फैलिएको छ ।
सिमेन्ट उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको गुनासो स्थानीयको छ ।

सर्वसाधारणले उद्योग सञ्चालक र प्रशासनलाई पटक–पटक प्रदूषणबारे ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ दुवै पक्षले गरेका छैनन् ।

प्रदूषण नियन्त्रणका लागि मेयर पौडेलद्वारा पहल उद्योगको प्रदूषणले नगरबासी समस्यामा परेको जानकारी पाएपछि जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख डा। कृष्ण पौडेलले नियन्त्रणका लागि पहल सुरु गरेका छन् ।

डा। पौडेलले उद्योगका सञ्चालक अशोक वैद्यलाई भेटेर नागरिकको स्वास्थ्यप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

उद्योग सञ्चालक वैद्य भने प्रदूषण नियन्त्रणका लागि प्लान्ट निर्माण गरिरहेको बताउँछन् । साढे चार करोडको लगानीमा प्रदूषण नियन्त्रण प्लान्ट निर्माण भइरहेको भन्दै सञ्चालक वैद्यले माघ मसान्तसम्ममा प्लान्ट निर्माण सकिने जानकारी दिए । ‘उद्योगबाट निस्केको प्रदूषणप्रति हामी पनि गम्भीर छौं,’ उनले भने, ‘त्यसैले ठूलो लगानीमा प्लान्ट निर्माण गरिरहेका छौं ।’