चार महिनापछि जनही २५ हजार रुपैयाँ राहत तराईका जनताले पाउने

0 94

काठमाडौं,१२ मंसिर । गएको साउन अन्तिम साता तराईमा गएको बाढीका प्रभावितहरूले चार महिनापछि जनही २५ हजार रुपैयाँ राहत पाउने भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बाढीपीडितलाई १५ हजार रुपैयाँ नगद र न्यानो कपडाका लागि अलग्गै १० हजारसहित जम्मा २५ हजार रुपैयाँ राहत वितरणको गृहकार्य भइरहेको जानकारी दिए ।

गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपीडितलाई राहत वितरण गर्न दिएको निर्देशन बमोजिम गृहकार्य अघि बढाइएको सचिव अधिकारीले बताए ।

बाढीपीडितलाई राहत वितरण गर्र्ने मन्त्रिपरिषद्को निर्णयको पत्र सोमबार मात्र प्राप्त भएको प्राधिकरणले जनाएको छ । ‘मन्त्रिपरिषद्को निर्णयबमोजिम आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग बजेट माग गर्न लागेका छौं,’ सचिव अधिकारीले भने ।

प्राधिकरणका अनुसार राहत भने चुनावपछिमात्रै वितरण हुनेछ । हाल अधिकांश कर्मचारी चुनावमा खटेकाले चुनावपछि मात्रै राहत वितरणको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने जिल्ला विपत व्यवस्थापन समितिमार्फत राहत वितरण हुनेछ । समितिले वास्तविक पीडित पहिचान गरी राहत वितरण गर्नेछ ।

यसअघि राष्ट्रिय योजना आयोगले तयार गरेको बाढीपछिको पुनस्र्थापना आंकलन प्रतिवेदनका अनुसार बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । तीनै पीडितलाई राहत वितरण गर्न लागिएको हो ।

बाढीबाट भएको क्षतिको पुनस्र्थापनाका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने आंकलन आयोगको प्रतिवेदनले गरेको छ ।

प्रतिवेदनका अनुसार बाढीबाट आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

बाढीबाट १८ जिल्लामा १ सय ३४ को मृत्यु भएको थियो ।