रौतहटमा विभिन्न जातीय समुदाय ठगिँदा असन्तुष्टि

0 17

रौतहट १९ कात्तिक । रौतहटका विभिन्न जातीय समुदायले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न ठूला दल तथा गठबन्धनले उपेक्षा गरेको गुनासो गरेका छन् । पार्टीमा लामो समय त्याग गरेका र ठूलो लगानी गरेका तथा जित्ने करिब निश्चित भएका नेताहरु समेत पार्टीबाट ठगिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

जिल्लामा करिब दस प्रतिशत संख्यामा रहेको थारु समुदाय नेपाली कांग्रेस र वाम गठबन्धनबाट ठगिएको बताइरहेका छन् । प्रतिनिधि सभाका चार र प्रदेश सभाका आठ गरी १२ जनालाई उम्मेदवार बनाइँदा नेपाली कांग्रेसले थारु समुदायबाट कसैलाई पनि उम्मेदवार बनाएको छैन । वाम गठबन्धनबाट पनि थारु समुदायले उम्मेदवार बनाएका छैनन् ।

‘रौतहटका थारुको वाम राजनीतिभन्दा प्रजातान्त्रिक राजनीतिमा ठूलो लगानी र त्याग छ तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बेवास्ता गरेपछि पार्टीले मूल्य चुकाउनुपर्नेछ,’ नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ता देवेन्द्र चौधरीले भने ।
जिल्लामा १७ प्रतिशत संख्यामा रहेको मुस्लिम समुदायलाई फोरम–राजपा गठबन्धनबाट उम्मेदवार नबनाइँदा मुस्लिम समुदायमा असन्तुष्टि बढेको छ । मधेस आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मुस्लिम समुदायलाई फोरम–राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार बनाएको छैन।

राजपामा सक्रिय र पार्टीले टिकट दिने आश्वासन दिए पनि अन्तमा ठगेकोले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको शेख फुल बाबुले बताए।

मुस्लिम समुदाय बाहुल्य जिल्लामा मधेसी पार्टीले मुस्लिम समुदायमाथि अन्याय गरेको आरोप मुस्लिम समुदायको छ । फोरम–राजपा गठबन्धनले मुस्लिम समुदायलाई आन्दोलनका लागि उपयोग मात्र गर्ने गरेको र भोट बैंकका रूपमा मात्र हेरेको आरोप लगाएका छन् ।