कोमल वली उम्मेदवारी फिर्ता लिनेमा एमाले नेताहरु ढुक्क

0 44

काठमाडौं १९ कात्तिक । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वली अहिले उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने दोमनमा छिन् । आज उनले उम्मेदवारी फिर्ता लिनेमा एमाले नेताहरु ढुक्क देखिन्छन् ।

एमाले नेतृत्वसँग पटक–पटक सम्वाद गरेर फिर्ता लिने मनस्थितिमा पुगेकी कोमललाई एमाले कार्यकर्ताले भने उठ्न दबाव दिएका छन् ।

‘यदि राप्रपाबाटै आएकालाई भोट हाल्नुपर्छ भने हामी तपाईंलाई भोट हाल्छौं उठ्नुस्, तपाई लोकप्रिय हुनुहुन्छ,’ एमाले कार्यकर्ताले यसो भन्दै उक्साउने गरेका छन् कोमललाई ।

केसीप्रति पनि पुराना एमाले नेताहरु असन्तुष्ट रहेको स्रोतको भनाइ छ । केसीविरुद्ध वाम गठबन्धनबाटै माओवादी पूर्वसभासद कुबेर ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

उता दाङ ३ मा नेपाली कांग्रेसबाट टिकट पाएका दीपक गीरीलाई पनि नेपाली कांग्रेसकै खुमबहादुर खड्का समूहले असहयोग गर्ने कोमल ओलीले सुइँको पाइसकेकी छिन् । उनले यसलाई आफ्नो पक्षमा खुमबहादुर खड्काले दिएको ‘ग्रिन सिग्नल’का रुपमा बुझेकी छिन् ।

दाङ क्षेत्र नं। ३ मा एकलाख ३४ हजार मतदाता छन् भने ओलीहरु मात्रै १४ हजार बढी छन् । आफू चुनावमा उठे ओलीहरुको समेत भोट आउने विश्वासमा छिन् कोमल ।

‘पार्टीमा लागिसकेपछि मेरो मात्रै निर्णयले नहुने रहेछ, कार्यकर्ताले जे भन्छन् त्यही गर्छु,’ अनलाइनखबरसँग कुरा गर्दै कोमलले भनिन् ।

एमाले उच्च स्रोतले भने आज कोमल ओलीले उम्मदेवारी फिर्ता लिने बतायो ।