कांग्रेस को निती नवप्रवेशीलाई काखा

0 23

काठमाडौं,१८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रबाट राज्यमन्त्री बनेका शम्भुलाल श्रेष्ठ उम्मेदवारी मनोनयनको ठिक दुई दिनअघि नेपाली कांग्रेसमा प्रवेश गरे । चार वर्ष एक महिनाको माओवादी यात्रापछि श्रेष्ठले बिहीबार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट उम्मेदवारी दर्ता गराए । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवारी मनोनयन गर्ने दुई दिनअघि उनी कांग्रेस छाडेर तत्कालीन एमाओवादीमा पसेका थिए । त्यसबेला सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनले सो क्षेत्रमा पनि उम्मेदवार बनेका तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसाट उम्मेदवार बनेका जंगीलाल रायले पनि दुई साताअघि राष्ट्रिय जनता पार्टी ९राजपा० छाडेका थिए । मधेसवादी दल गठन हुनुअघि उनी कांग्रेसका जिल्ला नेता थिए।
माओवादी केन्द्रले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएका रामेश्वर राय र ४ नम्बरबाट उम्मेदवार बनेका शिवपुजन यादव पनि स्थानीय चुनावका बेला मधेसकेन्द्रित दल छाडेर माओवादीमा प्रवेश गरेका थिए।

दलहरूको टिकट वितरण हेर्दा लामो समय संघर्ष गरेका केही नेतालाई ओझेलमा पारेर भर्खरै प्रवेश गरेकालाई टिकट थमाइएको देखिन्छ ।
करिब एक वर्षअघि तत्कालीन राप्रपा नेपाल छाडेर एमाले प्रवेश गरेका सुनसरी मनोज श्रेष्ठले पनि सुनसरी निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए । श्रेष्ठको उम्मेदवारीको विषयलाई लिएर एमाले सुनसरीभित्र व्यापक असन्तुष्टि छ । लामो समयदेखि त्यस क्षेत्रबाट एमालेका उम्मेदवार बन्दै आएका केन्द्रीय सदस्य जगदीश कुसियत श्रेष्ठकै कारण प्रदेशसभा सदस्य उम्मेदवार बन्न बाध्य भए।

बुधबार साँझ मात्र कांग्रेस छाडेर एमाले प्रवेश गरेका रामप्रसाद मेहताले प्रदेशसभातर्फ सुनसरी–२ ९ख० बाट उम्मेदवारी दर्ता गराए । यसअघि उनी कांग्रेस सुनसरी निर्वाचन क्षेत्र २ का सभापति थिए । पार्टी बदलेको छोटो समयमै टिकट पाउने सूचीमा मेहता पर्छन् । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम परित्याग गरेर एमाले पसेका अब्दुल रजकले रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए।

तीन दिनअघि मात्रै नेपाली कांग्रेस छाडेर माओवादी केन्द्र पसेका सिरहा कांग्रेस नेता सुरेशचन्द्र दासले निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए।

एमाले पूर्वसांसद तथा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले कांग्रेसमा प्रवेश गरेको दुई दिनमै कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए ।
त्यस्तै एक साताअघि एमाले प्रवेश गरेका लगनलाल चौधरीले प्रदेशसभातर्फ सिरहा–१ ९क० मा उम्मेदवारी दिए । उनी स्थानीय चुनावमा राप्रपाबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए।

यसैगरी मंलगबार मात्रै राजपा छाडेर एमाले पसेका ओमप्रकाश यादव गुल्जारी रुपन्देही– ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनलाई पार्टीभित्र ल्याउन एमाले उपाध्यक्ष वामदेव गौतम र उपमहासचिव विष्णु पौडेले मर्चवार पुगेका थिए।

दलहरूले समानुपातिकतर्फ पनि नवप्रवेशीलाई उम्मेदवार बनाएका छन् । नेकपा मालेबाट आएका आइन्द्र सुन्दर नेम्बाङ, चुरे भावरबाट आएका बद्री मैनालीलाई एमालेले समानुपातिक उम्मेदवार बनाएको छ । कांग्रेसले पनि गत साता मात्रै राप्रपाबाट कांग्रेस प्रवेश गरेका पोखराका उद्यमी सूर्यबहादुर केसीलाई समानुपातिक सूचीमा राखेको छ।

तेस्रो चरणअन्तर्गत प्रदेश २ मा असोजमा भएको स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा टिकट नपाएपछि राजपाबाट विद्रोह गरेर नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका विमल श्रीवास्त अहिले संघीय समाजवादी फोरमबाट पर्सा– १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । दुई महिनाभित्र उनले तीनवटा दल बदलेका छन्।

अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएर भर्खरै एमाले पसेका नवराज सिलवाल ललितपुर –१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्।

त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक मनोहर पराजुली दल अदलबदल संस्कृति बढ्नुमा राजनीतिक दल र व्यक्ति दुवै जिम्मेवार रहेको ठान्दछन् । ‘दलभित्र अवसर वितरणमा रहेको अस्थिर मापदण्ड र सत्ता तथा शक्तिमा रहिरहन खोज्ने प्रवृत्ति यसको प्रमुख कारण हुन्,’ पराजुलीले भने, एउटा दलको झन्डा वा सिद्धान्त बोकेको मानिस कसरी रातारात अर्को दलको बन्न सक्छ रु’ उनले भने । अमेरिकाबाट चुनाव र प्रजातन्त्र विषयमा पिएचडी गरिरहेका पराजुलीले थपे, ‘दल अदलबदल प्रवृत्ति प्रजातान्त्रिक स्थायित्वका लागि घातक हो।’साभा नागरीक