चुनावको मिति नजिकिँदै जाँदा हराउदै साना दल

0 21

काठमाडौं, २८ असोज । चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसद्मा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् ।राष्ट्रिय पार्टी हुन तीन प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकीकृत हुन लागेका हुन् ।अहिलेसम्म नेमकिपामात्र एक्लै चुनाव लड्ने तयारी गरेको छ । अन्य सबै पार्टी तालमेल गरी चुनाव लड्ने तयारी गरेका छन् । राष्ट्रिय पार्टी हुन तीन प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकीकृत हुन लागेका हुन् । एकीकृत नभएका साना दल पनि ठूला पार्टीको चुनाव चिह्न लिएर चुनाव लड्ने तयारी गरेका छन् ।

नेकपा संयुक्त बुधबार माओवादी केन्द्रमा विलय भएको छ भने विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक चुनावअघि नै नेपाली कांग्रेससँग एकीकृत हुँदैछ । यसैगरी परिवार दल एमालेको चुनाव चिह्न लिएर चुनाव लड्ने घोषणा गरेको छ भने प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र लोकमणि ढकालको जनजागरण पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णय गरेका छन् । मेघलाल निषादको मधेस समता पार्टीले पनि एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने घोषणा गरेको छ ।

चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा र सिपी मैनालीको नेकपा ९माले० ले पनि अन्य पार्टीसँग तालमेल गरेर चुनाव लड्ने तयारी गरेका छन् । केसी र मैनालीले एमाले र माओवादी केन्द्रका नेतासँग तालमेलका लागि छलफल अघि बढाएका छन् । केसीले अन्य पार्टीसँग तालमेल गरेर चुनाव लड्ने तयारी भएको भन्दै यसबारेमा ठोस निष्कर्ष भने अझै ननिस्केको बताए ।

संसद्मा रहेका मधेस केन्द्रित ६ दल एकीकृत भई गठन गरिएको राजपाले समेत संघीय फोरमसँग तालमेल गरी चुनाव लड्ने तयारी गरेको छ । राजपा र संघीय फोरम नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनमा आबद्ध छन् ।

यसैगरी गठबन्धनमा आबद्ध राप्रपा प्रजातान्त्रिकले डा। प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादीसँग पार्टी एकीकरण गर्ने तयारी गरेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले लोहनीको पार्टीसँग एकीकरणको तयारी भएको बताए ।
संसद्मा एक सिट रहेको बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले एमालेसँग चुनावी तालमेल गर्ने तयारी अघि बढाएको स्रोतको भनाइ छ । यसैगरी चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा गाभिने भएको छ ।

आगामी संसदीय र प्रदेशसभाको चुनाव प्रयोजनका लागि ९१ दल निर्वाचन आयोमगा दर्ता भएका छन् । वर्तमान संसद्मा २४ दलको प्रतिनिधित्व छ । संसद्मा रहेका राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टी यसअघि नै फोरम लोकतान्त्रिकमा विलय भइसकेका छन् । राप्रपा पनि लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई चुनाव लड्ने भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिद्धान्त र विचार मिल्ने साना दल एकीकृत हुनु राम्रो कुरा भएका बताए । ‘विचार र सिद्धान्त मिल्नेहरू एकीकृत हुनु राम्रो कुरा हो । सिद्धान्त मिल्न नसक्नेहरू एक ठाउँमा आउन सक्दैनन्,’ उनले भने ।
रूक्मिनी चौधरीले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले कसैसँग चुनावी तालमेलको तयारी गरेको छैन । यसैगरी अखण्ड पार्टीले पनि तालमेल प्रक्रिया अघि नबढाएको अध्यक्ष कुमार खड्काले बताए ।

नयाँ शक्ति एक्लै भिड्ने
वाम गठबन्धनमा आबद्ध रहेको बाबुराम भट्टराईको नयाँ शक्ति भने वाम गठबन्धनबाट बाहिरिएको छ । नयाँ शक्तिले अब वामपन्थी पार्टीसँग तालमेल नगरेरै चुनाव लड्ने भएको छ । नयाँ शक्ति संघीय सचिवालयको शुक्रबार बसेको बैठकले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । सो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्ने नेताका नाम पनि सार्वजनिक गरेको छ । तिनमा भट्टराई, कृष्णकुमार चौधरी, प्रेम तामाङ र मदन राई रहेका छन् । नयाँ शक्तिले अब पार्टीको आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर चुनाव लड्ने भएको छ । सिट तालमेल गर्नेबारेमा कुरा नमिलेपछि नयाँ शक्ति वाम गठबन्धनबाट बाहिरिएको थियो । गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र सहमतिको मर्मविपरीत गएकाले गठबन्धनबाट बाहिरिएको नयाँ शक्तिका नेताले बताएका छन् ।