नेपाली चलचित्र अहिले हलमा र डिस होममा एकैदिन फिल्म रिलिज गर्न नपाइने

0 58

नेपाली चलचित्र अहिले हलमा र डिस होम च्यानलमा एकैदिन रिलिज हुन थालेका छन् । डिस होमले चलचित्रका निर्मातलाइ राम्रो रकम दिन थालेपछि निर्माताहरु त्यतातर्फ आकषिर्त भएका हुन् ।

चलचित्र ‘धुम २, मेरो पैसा खोइ’ हलमा र डिस होम च्यानलमा एकैदिनमा रिलिज भए । अब, चलचित्र ‘रुद्रप्रिया’ पनि दर्शकले घरमै बसीबसी पैसा तिरेर हेर्न पाउनेछन् ।

तर, टीभीमा समेत हलमा रिलिज भएकै दिन चलचित्र आउन थालेपछि हलहरुको छाता संगठन चलचित्र संघले कडा कदम चालेको छ । हलमा रिलिज भएकै दिन टीभीमा चलचित्र रिलिज गर्न नपाइने निष्कर्ष चलचित्र संघको कार्यसमितीले निकालेको छ । चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयका अनुसार, हलमा रिलिज भएको ३ हप्तासम्म चलचित्र डीस होममा रिलिज गर्न नपाइने व्यवस्था गरिएको हो ।

डिजिटल राइट्सबाट राम्रो रकम कमाइरहेका निर्माताले डीस होममा पनि राम्रो रकममा चलचित्र बेच्न थालेका छन् । संघको यो निर्णयको निर्माता र चलचित्रकर्मीहरुले विरोध गरिरहेका छन् । अर्कोतिर, कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’ डीसहोममा पनि सोही दिनमा रिलिज हुनेछ । अब, यो चलचित्रलाइ चलचित्र संघले हलमा चलाउँछ या चलाउँदैन, यसमा पनि सबैको नजर परेको छ ।