फोरम लोकतान्त्रिकले माग्यो २० सिट, बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई,

0 26

काठमाडौं, २२ असोज । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ ।

अब प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेर सिट संख्यामा सहमति जुटाउने प्रयास गर्नेछन् ।

चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा कार्यदल बनाइएको थियो । तर, सिट संख्या निर्धारण नहुने बाँडफाँटमा समस्या भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए ।

अब प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्टयाउनेछ ।

फोरम लोकतान्त्रिकले माग्यो २० सिट

कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् । राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरेसँगै गठबन्धनमा उनीहरुको बार्गेनिङ पावर बढेको छ ।

तर, कति सिट भन्ने मुख खोलेका छैनन् । फोरम लोकतान्त्रिकले भने २० सिट मागेको छ । ‘हामीले २० सिट भनेका छौं, हेरौं कतिमा सहमति हुन्छ’ नेता चौधरीले भने ।

कमल थापा नेतृत्वको राप्रपाले पनि लोकतान्त्रिक गठबन्धनमा आवद्ध हुन २० सिट मागेको छ ।

चुनाव चिन्ह आआफ्नै

गठबन्धनमा आवद्ध दलहरुले आगामी चुनावमा चुनाव चिन्ह भने आ आफ्नै लिनेछन् । नेताहरुका अनुसार तालमेल भएका ठाउँमा गठबन्धनमा आवद्ध अन्य दलले उम्मेदवार नउठाउने तर, सम्वन्धित पार्टीकै चुनाव चिन्ह लिने सहमति भएको छ ।