बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा ७ अर्ब ५३ करोड रुपैयाँ पुनर कर्जा तिर्न बाँकी

0 24

काठमाडौं, १० असोज । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा साउनसम्ममा ७ अर्ब ५३ करोड रुपैयाँ पुनर कर्जा तिर्न बाँकी रहेको छ । गत असारसम्ममा १४ अर्ब ६१ करोड रुपैयाँ गएकोमा बैंकहरुले केही पुनरकर्जा तिरेको र केही नयाँ लिएकोले ७ अर्ब ५३ करोड रुपैयाँ बराबर रहेको पुनरकर्जा रकम बाँकी रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने । साउनमा मात्र कति पुनरकर्जा गयो भनेर तथ्यांक ननिकालिएको थापाले बताए ।

बैंकहरुले साधारण पुनरकर्जा ७ अर्ब ३९ करोड र निर्यात पुनरकर्जाको रुपमा १४ करोड रुपैयाँ लिएका छन् । राष्ट्र बैंकले चालु आवमा पुनरकर्जाको लागि २० अर्ब रुपैयाँ छुट्याउने बताएको थियो ।

 

यसअघि राष्ट्र बैंकले १० अर्ब ८४ करोडको सीमामा रहेर पुनरकर्जा सुविधा दिदै आएको भएपनि चालु आवबाट आर्थिक पुनरउद्धार कोषमा रहेको ५ अर्ब र राष्ट्र बैंकको मुनाफाबाट समेत गरेर २० अर्ब रकम पुर्याउने भएको थियो ।

राष्ट्र बैंकले ५ शीर्षकमा बैंक तथा वित्तीय संस्थालाई पुनरकर्जा प्रदान गर्दै आएको छ । राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार राष्ट्र बैंकले साधारण पुनरकर्जामा बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत व्याज दरमा कर्जा दिने गर्छ भने बैंकहरुले ग्राहकसँग अधिकत्तम ९ प्रतिशत मात्र व्याज लिन पाउँछन् ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विशेष पुनर कर्जा, साना तथा मझौला कर्जा, निर्यात कर्जा, भूकम्पपीडीतलाई आवास कर्जा शीर्षकमा क्रमशः १ प्रतिशत, ५ प्रतिशत , १ प्रतिशत र शून्य प्रतिशतमा सहुलियत पूर्ण कर्जा उपलब्ध गराउछ । बैंकहरुले भने ऋणीसँग यी कर्जामा क्रमशः ४।५ प्रतिशत, १० प्रतिशत, ४।५ प्रतिशत, २ प्रतिशतसम्म मात्र व्याज लिन पाउछन् ।

राष्ट्र बैंकले बैंकहरुमार्फत् भुकम्प पीडितलाई उपलब्ध गराउदै आएको सहुलियत पूर्ण ऋण ७९ करोड ९० लाख रुपैयाँ बराबर गएको हो ।