दुई नम्बर प्रदेशमा कुमारी हजुरआमादेखि नेतापत्नीसम्म ! वीरगञ्जका भावी उपमेयरहरुमा

0 36

वीरगञ्ज ३० भदौ । दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरका उम्मेदवारहरुको चर्चा व्यापक भइरहेको छ । तर, पहिलोपटक वीरगञ्जले महिला उपमेयर पाउँदैछ, जुन विषयले खासै चर्चा पाउन सकेको छैन ।

मेयरमा हैवीवेट उम्मेदवारसँगै उपमेयर पनि प्रजातान्त्रिक सेनानी भई १० वर्ष जेलमा रहेकादेखि उपप्रध्यापक, शिक्षिका, पत्रकार लगायतका पेशाकर्मीर्समेत उम्मेदवार छन् ।

वीरगञ्जमा मेयरले जति चर्चा पाएको छ, त्यस अनुपातमा उपमेयरको चर्चा नभएपनि ठूला राजनीतिक दल र मधेस केन्दि्रत दलहरुले शिक्षित उम्मेदवार बनाएका छन् । यहाँ हामीले महानगरपालिकामा उपमेयरका प्रत्याशीहरुको परिचय खोजेका छौं-

शान्ति कार्की, नेपाल कांग्रेस

८७ वर्षकी वृद्धा भए पनि सबैभन्दा सक्रिय र जोशिली उम्मेदवार हुन् शान्ति कार्की । कार्की विगत ५६ वर्षदेखि राजनीतिमा क्रियाशील छिन् । कार्कीले राजनीतिमा लागेका कारण विवाह पनि गरिनन् र अहिलेसम्म डेरामै बस्ने गरेकी छिन् ।

नेपाली कांग्रेस पटक-पटक सरकारमा गए पनि १० वर्ष जेल जीवन बिताएकी कार्की कहिल्यै राजनैतिक लाभको पदमा उम्मेदवार बनेकी थिइनन् । यसपटक उपमेयर उम्मेदवार बनेकी कार्कीले १० कक्षा उत्तीर्ण गरेकी छिन् ।
वीरगञ्जको विकासमा योगदान गर्ने आफ्नो इच्छा रहेको उनले चुनावी सभामा बोल्दै आएकी छिन् । उनी नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।

रम्भा मिश्रा, राष्ट्रिय जनता पार्टी

टेलिभिजनमा कार्यक्रम प्रस्तोतासमेत रहेकी रम्भा मिश्र समाज सेवामा पनि संलग्न छिन् । उनी विगत केही समयदेखि राजनीतिमा सक्रिय थिइन् ।

राष्ट्रिय जनता पार्टीकी केन्द्रीय सदस्य मिश्रा रोटरी क्लब र ग्रीन सिटीमा पनि सक्रिय थिइन् । ४२ वषर्ीया मिश्राको शिक्षा स्नात्तोत्तर एमबीएस हो । महानगरपालिकाको विकास, सामाजिक कुरीतिको अन्त्य लगायत मुद्दा आफ्नो रहेको उनी बताउँछिन् ।

सोफिया आचार्य, नेकपा एमाले

अर्थशास्त्रमा स्नात्तकोत्तर -एमए) सोफिया आचार्य त्रिभुवन विश्वविद्यालयको उपप्रध्यापकबाट राजिनामा गरेर उपमेयरको उम्मेदवार बनेकी छिन् । ६० वषर्ीया आचार्य ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा २० वर्ष उपप्रध्यापकको रुपमा कार्यरत थिइन् । पछि त्रिविमा सरुवा भइन् । उनी एमालेका पूर्व जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्यकी पत्नी हुन् ।

नेपाल बुद्धिजीवी परिषदमा र प्रगतिशील प्रध्यापक संगठनमा आवद्ध आचार्य वीरगञ्जको विकास एवं महिला सशक्तीकरण आफ्नो मुल मुद्दा रहेको बताउँछिन् ।

पिंकी यादव, संघीय समाजवादी फोरम

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मनियारीमा राहत दरबन्दीमा शिक्षिका रहेकी पिंकी यादव पछिल्लो साता राजिनामा दिएर उपमेयरको उम्मेदवार बनेकी छिन् । उनी फोरमका जिल्ला अध्यक्ष प्रदीप यादवकी पत्नी हुन् ।
प्रदीप आफैं मेयरका दाबेदार थिए । तर, उद्योगपति विजय सराबगी फोरम प्रवेश गरेपछि उनी मेयरको दौडबाट बाहिरिए । र, पत्नीलाई उपमेयरको उम्मेदवार बनाए ।
आफू फोरममा पहिल्यैदेखि सहभागी भएको र शिक्षिकासमेत भएकाले पार्टीले अवसर दिएको पिंकीले बताइन् । उनले पछाडि परेको महिलाको विकासका लागि आफूले काम गर्ने बताइन् ।

दुर्गा क्षेत्री, माओवादी केन्द्र

वीरगञ्ज महानगरपालिका निवासी दुर्गा क्षेत्री सक्रिय महिला नेतृ हुन् । नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी ४४ वषर्ीया क्षेत्री माओवादी पार्टीको जिल्ला तहमा छिन् ।


आफू वीरगञ्जको पुरानो वासिन्दा र विगत १५ वर्षदेखि महिला जागृतिमा काम गर्दै आएको बताउँदै उनी आफूले जितेमा महिलाका लागि मधेसमा शिक्षा र चेतना बढाउने बताउँछिन् ।

पर्साका स्थानीय तह- को कहाँ बलियो ?

कुल १४ वटा स्थानीय तह रहेको पर्साको चुनावी चर्चामा बीरगञ्ज महानगरपालिकामात्रै देखिन्छ । अन्य ३ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारहरुको खासै चर्चा हुन सकेको छैन ।

साबिकमा एक उपमहानगरपालिका र ८२ गाविस रहेको पर्सामा अहिले एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेका छन् । प्रदेश नं. २ मा एक मात्रै महानगरपालिका वीरगञ्ज रहेकोले चर्चा सर्वाधिक भएको छ । तर, पर्साका बाँकी तीन नगरपालिका सहित १३ स्थानीय तहमा पनि चुनावी रौनक कम छैन ।

गाउँमा घर-घरमा उम्मेदवार बारे चासो र चर्चा छ । यसपटकको निर्वाचनमा १३ स्थानीय तहमै नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राजपााले उम्मेदवार मनोनयन गरेका छन् ।

बीरगञ्जमा बहुपक्षीय प्रतिस्पर्धा देखिए पनि अन्य अधिकांश स्थानीय तहमा काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । कतिपय तहमा भने फोरम र राजपा प्रतिस्पर्धामा आउने देखिन्छ भने ठोरीमा एमाले र माओवादी प्रतिस्पर्धी देखिन्छन् ।

पर्सागढी नगरपालिकामा नेपाली काँग्रेस र एमालेको बीच मुख्य प्रतिस्पर्धा देखिएको त्यहाँका स्थानीयहरु बताउँछन् । त्यस्तै बहुदरामाई नगरपालिकामा काँग्रेस, एमाले र राजपा बीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै कालिकामाई गाउँपालिकामा जनता दल र नेपाली काँग्रेस बीच प्रतिस्पर्धा देखिएको छ । पहाडे र थारु बाहुल्य रहेको ठोरीमा एमाले र माओवादी केन्द्र बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

छिपरमाई गाउँपालिकामा एमाले, माओवादी केन्द्र, फोरम नेपाल बीच त्रिकोणात्क प्रतिस्पर्धा देखिएको छ ।

धोबिनीमा एमाले र फोरम नेपालबीच तथा सखुवा प्रसौनीमा एमाले, काँग्रेस र फोरम नेपालबीच त्रिकोणीय प्रतिस्पर्धा हुने देखिएको छ ।
यसबाहेक पर्टवा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, पकाहामैनपुर र विन्दवासिनी गाउँपालिकामा नेपाली काँग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा रहेको त्यहाँका वासिन्दाहरु सुनाउँछन् ।साभा  : अनलाईन खवार