जुरे पहिरो पीडितले आफूहरुका लागि सरकार ‘निर्दयी’ बनेको आरोप लगाए

0 20

जुरे – २६ भदौ ।जुरे –साविक तीन गाविसका पाँच गाउँ सुनकोसी नदीमा सुलुत्त बगाउँदै १ सय ४५ स्थानीयको ज्यान लिएको जुरे पहिरो पीडितले आफूहरुका लागि सरकार ‘निर्दयी’ बनेको आरोप लगाएका छन् । घटनाको तीन वर्ष बितिसके पनि सरकारकै बेवास्थाले आफूहरूको दैनिकी सामान्य बन्नुको सट्टा झन्–झन् कष्टकर बनेको गुनासो उनीहरूको छ ।

पहिरोमा आफन्त र श्रीसम्पति गुमाएर बाँचेका पीडितले उनीहरूको अवस्था बुझ्न यहाँ आएका सरकारी अधिकारी र निर्वाचित जनप्रतिनिधिको टोलीलाई घेरा हाल्दै आक्रोश पोखे, ‘पहिरोमा त बाँच्यौँ । बरु सरकारले पो मायो ।’ पुरे पीडितका लागि देशविदेशबाट संकलित सवा दुई करोड रुपैयाँ त्यसै थन्किएर बसेको पाएपछि यसबारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल श्रेष्ठसहितको टोली यहाँ आएको थियो ।

पहिरोप्रभावित क्षेत्रको बनसाँघु पुग्दा तामाङद्धयको टोली धेरै संख्यामा उपस्थित पीडितको गुनासा र आक्रोशले घोरियो । उनीहरुको आक्रोश मिश्रित गुनासा सुन्दा लाग्थ्यो, तीन वर्ष दुई महिना बितिसक्दा जुरे पहिरोले दिएको पीडा ‘बीसको उन्नाइस’ हुन सकेको छैन । उनीहरूसँग आफन्त गुमाएको बेदना अझै उस्तै छ । दुःखमा सरकारले समेत नहेरेपछि ‘टुहुरो’ जीवन बाँचिरहेको अनुभव गरेका उनीहरुमा पीडा, छटपटी र दिग्दारी मात्र देखियो ।

आफूहरुको सहयोगका लागि देश, विदेशबाट संकलित २ करोड २४ लाख रुपैयाँ तीन वर्षदेखि कोषमै थन्किएपछि गाँसवासको समस्या रहेका जुरेपीडित सरकारसँग आक्रोशित छन् । भन्छन्, ‘पहिरोमा त बाँच्यौँ । बरु सरकारले पो मार्‍यो ।’
‘टेक्ने जमिनसमेत छैन । बाँच्ने साहारा पहिरोले खोस्यो,’ जुरेमा परिवारका तीन सदस्य गुमाएका मांखाका इन्द्रलाल श्रेष्ठले गला अवरुद्ध पार्दै भने, ‘सुकुमबासी भइयो । दुःखमा सरकारले हेर्दै हेरेन ।’ पहिरोपछि उनको बाँकी परिवार नेपाल विद्युत प्राधिकरणको जग्गामा अस्थायी टहरो हाली बस्दै आएको छ । जग्गा खाली गर्न प्राधिकरणले दबाब दिइरहेको उनले गुनासो गरे । ‘आजै जा, भोलि नै गइहाल भनेर प्राधिकरणको चिठी आइरहेको छ,’ उनले भने ।

मांखाकै राधा पराजुलीले टेक्ने जमिन र शरीर लुकाउने ओतको खोजीमा भौतारिइरहेको सुनाइन् । पहिरोमा परिवारका पाँच सदस्य र सबै श्रीसम्पति गुमाएकी उनले प्रश्न गरिन, ‘कहाँ छ सरकार रु’ पहिरोले घर बगाएको थलो उराठ लाग्दो जुरे पहिरो देखाउँदै अर्का पीडित रामबहादुर लामाले ‘सर्वस्व गुमाएर घरबारबिहिन छौँ । कसैले हेरेन ।’ बासको मात्र व्यवस्था भइदिए बाँकी जीवन गुजासा सहज हुने उनले बताए । पहिरोमा परिवारका सबै गुमाएर उनी लामासाँघुस्थित नेपाल म्याग्नेसाइट उद्योगमा विस्थापित भएर एकल जीवन बिताइरहेका छन् ।

२०७१ साउन १७ गतेको जुरे पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुरका गाउँ, बस्ती बगाउँदै ११ घण्टा बर्खाको सुनकोसी नदी टम्म थुनेको थियो । घटनामा ज्यान गुमाएका १ सय ४५ मध्ये ३३ शब मात्र भेटिएको थियो । अरु पहिरोमै बेपत्ता भए । पहिरोबाट २ सय ४० परिवार प्रभावित रहेको सरकारी तथ्यांक छ । परिवारका सदस्य र घरजमिनसमेत गुमाउने मुख्य पीडित मात्रै १ सय ५५ परिवार छन् ।

पहिरोपछि तत्कालका लागि दाताबाट संकलित खाद्यन्न लगायत राहत बाँड्ने तथा मृतकका पीडित परिवारलाई किरिया खर्च र क्षतिपूर्ति रकम थमाउनेबाहेक बाँचेकाको दीर्घकालीन हितमा सरकारले बेवास्था गरेको उनीहरुको गुनासो छ । पहिरोले सबै जमिन पुरेपछि अधिकांश पीडितसँग घर बनाउने थलो छैन । घटनापछि पीडित म्याग्नेसाइट उद्योगमा आश्रित थिए । पहिरोको पीडा कम नहुँदै आठ महिनापछि २०७२ वैशाख १२ गते निम्तिएको भूकम्पले उनीहरुलाई त्यहाँबाट पनि लखेटेको छ । धेरै पीडित गुजाराको खोजीमा रोजगारी अवसर प्राप्त हुने बनेपा र राजधानीमा विस्थापित छन् । केही पीडित जोखिमपूर्ण पहिरो आसपास फर्केका छन् ।

सवा दुई करोड थन्किएको थन्किएै

पहिरोपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले गृह मन्त्रालयसँग अनुमति लिएर जुरे पीडितको सहयोगार्थ विशेष कोष नै स्थापना गरेको थियो । उक्त कोषमा देश, विदेशबाट नगद संकलन भयो । सुरु तीन र पछि तीन महिना गरी खुलाइएको कोषमा २ करोड २४ लाख रुपैयाँ संकलन भएको थियो । उक्त कोषमा घटनाको साता नबित्दै जुरै आएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेको १ लाख रुपैयाँ सहयोगसमेत छ ।

घटनापछि दैवी प्रकोप उद्धार समितिमा अध्यक्ष रहेन ६ जना प्रमुख जिल्ला अधिकारी परिवर्तन भइसके पनि पीडितको लागि संकलित रकम उनीहरूको हितमा खर्च हुन सकेको छैन । उद्धार समितिले विभिन्न पटक उक्त रकम पीडितको सहयोगमा खर्च गर्ने धेरै निर्णय ग¥यो, तर कार्यान्वयन भएन । जुरेपछि लगातार निम्तिएका भूकम्प, भोटेकोसी बाढी लगायत प्राकृतिक विपत्तिमा खट्नु पर्दा सहयोग रकमको उचित व्यवस्थापन हुन नसकेको जवाफ सरकारी अधिकारीले दिँदै आएका छन् ।

चिन्ता वासकै

जुरे पीडित सोमबहादुर तामाङले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आवास बनाउन अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका छन् । उनले रकम पाएको केही महिना बिते पनि खर्च गरेको छैनन् । त्यसबाट घरै बनाउने उनको धोको छ । तर जग खन्ने जमिन नहुँदा उनले धोको पूरा गर्न सकेका छैनन् ।

जुरेले घरघडेरीसहित सबै ४२ रोपनी जग्गा बगाएपछि उनी सुकुम्बासी जस्तै बनेका छन् । ‘जमिनको टुक्रा छैन । कहाँ घर बनाउनु रु,’ उनले चिन्ता दर्शाए । उनले घडेरी किन्न नखोजेका पनि होइनन् । त्यति रकमले घडेरी किन्न नपुग्ने भएपछि चुपचाप बस्नुको बिकल्प उनीसँग थिएन । ‘घडेरी मात्रै व्यवस्था गर्दिए दुःखसुख गरेर घर बनाउँथेँ,’ उनको आशासहितको रहर छ ।

जुरे मुख्य प्रभावितमध्ये १ सय ३५ ले प्राधिकरणबाट लाभग्राहीमा समेटिएका छन् । केन्द्रीय दैवी प्रकोप उद्धार समितिको निर्णयको आधारमा प्राधिकरणले उनीहरुलाई भूकम्प पीडितको रुपमासमेत स्वीकारेको हो । अनुदान सम्झौता गरिसकेका उनीहरूले पहिलो किस्ता ५० हजार रुपैयाँ पाइसकेका छन् । कसैसँग जग्गाको टुक्रा नहुँदा उनीहरूले घर बनाउन सकेका छैनन् । अनुदान खर्च भएको छैन । ‘दसैं, तिहार आउनै लाग्यो । घर बनाउने पैसा अन्यत्रै खर्च हुने चिन्ता भो,’ पहिरोको बेला भागेर ज्यान जोगाए पनि सबै जग्गाजमिन गुमाएका सने तामाङ भन्छन्, ‘बस्ने वास बनाउन पाए हुन्थ्यो।’

नगदै कि पुनर्वास रु

स्थानीय प्रशासनले कोषमा रहेको रकम नगदै लिनेकी सामूहिक आवासमा जाने दुईमध्ये एक विकल्प रोज्न पीडितलाई बाटो खुला गरेको छ । पीडितको गुनासा सुनेपछि प्रजिअ तामाङले सर्वसम्मतिले दुईमध्ये एक विकल्पमा निर्णय लिन पीडितलाई आग्रह गरे । ‘तपाईँहरुले निर्णय लिनासाथ सहयोग रकमको उचित व्यवस्थापन प्रक्रिया थाल्छौँ,’ उनले आश्वासन दिँदै भने।

बिपद्का बेला पीडितको सहयोगार्थ रकम संकलन भएकाले त्यो उनीहरूकै भएको र पीडितकै हितमा खर्च हुने उनले बताए । उनका अनुसार पीडितले चाहे एकीकृत नमुना बस्ती निर्माण गरेर पुर्नर्वास गराउन सकिनेछ । ‘सहयोग रकममा प्राधिकरणले दिएको अनुदान थप्दा एकीकृत बस्ती बसाल्न सकिन्छ,’ नवनिर्वाचित जनप्रतिनिधिको सुझावसमेत सुनेपछि उनले भने ।