वृद्धवृद्धालाई निशुल्क सेवा दिने राजभण्डारीको उद्घोष

0 179

सर्लाही । हरिवन नगरपालिकाका लागि नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीले मेयरमा विजयी भए हरिवन नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्ने घोषण गरेका छन् ।

स्थानीय जनतासँग आफ्नो पक्षमा मत माग्दै घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार राजभण्डारीले २५ शैयाँको आधुनिक अस्पताल निर्माण गर्ने, जेष्ठ नागरिक तथा अशक्त नागरिकको लागि निशुल्क नगरबसको व्यवस्थ गर्ने, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने जस्ता महत्वपूर्ण घोषणा गरेका छन् ।

यसैगरी उम्मेदवार राजभण्डारीले आफू विजयी भए आफूले पाउने सम्पूर्ण तलव भत्ता सुविधा सवै वृद्ध, अपाङ्ग तथा असहाय नागरिकको आवश्यक सेवाको लागि खर्च गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले युवाहरुकोलागि स्वरोजगार मुलक तालिम, रोजगारी तथा अन्य सीप विकासका आवश्यक पूर्वाधार निर्माण गर्ने योजना रहेको समेत बताए ।

२०३६ सालदेखि नेपली कांगे्रससँग आवद्ध रहेर राजनीतिमा सक्रिय राजभण्डारी खेलकुद र विभिन्न सामाजिक गतिविधिमा समेत क्रियाशील व्यक्ति हुन् । विशेषत युवाहरुमाझ ज्यादै चर्चित रहेका उनी स्थानीय जनतासँग ज्यादै भिजेका नेताका रुपमा पनि परिचित छन् ।

निर्वाचनको तयारीका सन्दर्भमा विभिन्न सभाहरुलाई सम्बोधन गर्दै हरिवन नगरपालिकालाई सुशासन, भ्रष्टाचार मुक्त नगरपालिकाको रुपमा विकास गर्ने योजना रहेको उल्लेख गरे ।

यसैगरी हरिवनमा कृषिको ज्यादै ठूलो सम्भावना रहेकाले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर कृषि औद्योगिकीकरणमा जोड दिने समेत आफ्नो योजना रहेको बताए ।