‘प्रेमीका’लाई गाली गरेको भन्दै प्रेमी र प्रेमिका पक्षबीच झडप

0 20

भैरहवा, २२ भदौ । ‘प्रेमीका’लाई गाली गरेको भन्दै प्रेमी र प्रेमिका पक्षबीच झडप हुँदा रुपन्देहीमा एघार जना घाइते भएको छन् ।

घाइतेहरुको भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस र भैरहवा भीम अस्पतालमा उपचार भइरहेको छ । प्रेमी पक्षका ४ जना र प्रेमीका पक्षका ७ जना गरी ११ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा युवतीका पक्षका रोहिणी गाउँपालिका वडा नम्बर ६ विष्णुपुराका २६ वर्षीया प्रमशिला यादव, २८ वर्षीया लिमा यादव, ४५ वर्षीय शेषमान यादव, ४० वर्षीया पानादेवी यादव, १९ वर्षीया अमेरिका यादव, ३० वर्षीय छोटु यादव र छोटलाल यादव रहेका छन् ।

त्यस्तै युवा पक्षका सोही स्थानका ५० वर्षीया अरबुन निशा, ३० वर्षीय मोहम्मद उमर शेख, ३८ वर्षीय अलाउद्दिन मुसलमान र २५ वर्षीय मोहम्मद इसुक रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये दुई जनाको टाउको चोट लागेको छ । र, घाइतेहरु खतरामुक्त अवस्थामा छन् ।

घटनामा संग्लन रहेकोको आरोपमा प्रहरीले मनौवर अली शेख र उनका छोरालाई पक्राउ गरेको छ ।

रुपन्देहीको नेपाल भारत सीमामा पर्ने रोहिणी गाउँपालिकाका युवा मोहम्मद उमर शेख र त्यहीँकी उर्मिला यादवबीच प्रेमसम्बन्ध थियो ।

शेखले उर्मिलासँग हिमचिम बढाएको थाहा पाएपछि दिदी नातापर्ने प्रमशिला यादवले हिजो बुधबार बहिनी उर्मिलालाई शेखसँग नजिक नहुन सचेत गराएकी थिइन् । उर्मिला भारतीय नागरिक हुन् ।

प्रमशिलाले उर्मिलालाई हप्काएको भन्दै उर्मिलाकी बहिनी प्रमिलाले शेखलाई कुरा लगाएपछि शेख आक्रोशित बनेका थिए ।

विवाद भएपछि त्यसै दिन साँझ प्रमशिलाका श्रीमान छोटू यादव र उर्मिलाका प्रेमी शेखबीच छलफल भएको थियो । उनीहरुबीचको ‘छलफल’ले उग्र रुप लिँदा झडप सुरु भएको बताइएको छ । झडपमा घाइते रहेकी प्रमशिलाका अनुसार शेखले उनका श्रीमान छोटूमाथि लाठी प्रहार गरेपछि झडप सुरु भएको थियो ।

झडपमा कोदालो, भाला लगायतको हतियारहरु प्रयोग भएको स्थानीयले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्यामलाल ज्ञवाली र डिएसपी डिल्लीनारायण पाण्डेलाई पटक पटक सम्पर्क गर्दा पनि उनीहरु यसबारेमा केहि बोल्न मानेनन् ।