तीनसय बोकेर काठमाडौं आए, नेपालकै पहिलो टेलिफिल्म बनाए

0 57

काठमाडौं । ‘म त सुब्बाबाटै रिटायर्ड भएँ, छोरालाई जसरी पनि अफिसर बनाउँछु,’ रमेश बुढाथोकी सानो छँदा उनका बुवाले साथीभाईलाई धाक दिन्थे ।

तर, बुबाको चाहनाभन्दा ठिक विपरित थियो उनको सोच ।  उनलाई नाटकमा गहिरो अभिरुची थियो । नाट्यसंस्था दियालो परिवारमा आबद्ध भैसकेका थिए । बद्री अधिकारी, मुकुन्द श्रेष्ठलगायतको टिममा उनी थिए । त्यही वेला दियालोले दमकमा नाटक मञ्चन गर्ने भयो । सानो रोल पाए बुढाथोकीले ।

भन्छन्, ‘पहिलोपटक एउटा मादल बोक्ने मान्छेको सामान्य भुमिका निर्वाह गरेको थिएँ तर, के के न गरेझै भएको थियो मलाई ।’

छोरा अधिकृत भएको हेर्न चाहने बुबाको चाहनामा तुषारापात भयो, जब उनी नाटकमै रुमल्लिन थाले । एकदिन बुबाले बोलाएर भने ‘कि तँ आफ्नो भाग अंश लिएर छुट्टै बस् । होइन, यही घरमा बस्ने हो भने मैले भनेको मान्नुपर्छ ।’

बुबाको आशय अंशबण्डाको कुरा गरेपछि छोरो डराउँछ र नाटक छाडेर पढाइमा लाग्छ भन्ने थियो । तर बुवाको चेतावनीलाई उनले पुरै वेवास्ता गरे । बुबाले भने फकाउन छाडेनन् । अन्तिममा थाके ।

बुढाथोकीले आइएसम्म बिराटनगरमै पढे । परिवार खान्दानी भए पनि फुर्मासी खर्च गर्ने पैसा हुन्थेन । बुबाले भनेको नमान्ने छोराले पैसा माग्ने हिम्मत पनि गरेनन् । फिल्म औधी हेर्नु पथ्र्यो उनलाई तर, पैसा हुँदैनथ्यो । फिल्म हेर्नकै लागी दुईपटक बाको सिरानीबाट पैसा चोरेको बिर्सेका छैनन् उनले ।

‘मैले पैसा झिकेको कुरा बुवाले थाहा पाउनु भयो तर, केही भन्नु भएन,’ बुढाथोकीले भने ।

उनले सोचेका थिए ‘पैसा झिकेको कुरा थाहा पाएपछि एकदिन बुवाले झपार्छन् ।’ तर, केही नभनेपछि उनलाई आत्मग्लानी भएर बुबाको सिरानी पल्टाउन छाडिदिए ।

एकेडमीमा छानिएपछि

बुबासँग र्याङ ठ्याङ नमिले पनि आइएसम्म उनले बिराटनगमै पढे । आइएकोे चौथो सेमेष्टर -तत्कालीन समयमा सेमेष्टर प्रणाली थियो) दिएर घरमै बसेका बुढाथोकीको मनमा भने नाटकमा कसरी स्थापित हुने भन्ने थियो । काठमाडौ जान पाए केही हुन्छ कि भन्ने सोचे ।

तत्कालिन समयमा एकेडेमीले नाट्य प्रशिक्षण दिन्थ्यो । पाँच विकास क्षेत्रबाट एक-एक जना छान्ने चलन थियो । निवेदन दिएका बुढाथोकी छनौट भए । छनौट हुनुमा पनि केही कारण छ भन्ने लाग्छ उनलाई ।

 

प्रशिक्षणका लागि निवेदन दिनु अगावै बिराटनगरमै एउटा नाटक मञ्चन भएको थियो । उक्त नाटक सेन्सरका लागि हरिहर शर्मा काठमाडौबाट गएका थिए । शर्माले उनको काम नियालेर हेरे ।

बुढाथोकीलाई लाग्छ, ‘सायद त्यहि कारण पनि हुनसक्छ मलाई एकेडेमीमा सेलेक्ट हुन सजिलो भयो ।’ हरिहर शर्मा, प्रचण्ड मल्ल, गोपालनाथ योगी लगायतले अन्तरवार्ता लिएका थिए ।

नाट्य प्रशिक्षणमा सहभागी भएपछि उनको दैनिकी हल्का फेरियो । त्रिचन्द्रमा नाइट क्याम्पस भर्ना भए भने बिहान प्रशिक्षण लिन जान्थे एकेडेमीमा ।

तीन सय बोकेर काठमाडौं

एकेडमीमा सेलेक्ट भएपछि काठमाडौं नआई सुखै थिएन । तर, बुबा यसै पनि रुष्ट । नाटकमा रुमल्लिन थालेको छोरालाई उनले काठमाडौं पठाउनेमा शंका थियो । त्यसैले बुढाथोकीले बुवालाई ढाँटे ।

‘काठमाडौं जाने कुरा सुनेर बुबा खुसी हुनु भयो । किनकी मैले त्रिचन्द्रमा बिए पढ्ने कुरो गरेको थिएँ ।’ त्रिचन्द्रमा पढेपछि छोरो सुध्रनेमा बुबा थोरै आशावादी थिए ।

एउटा खाट र टिनको बाकसासँगै बुबाले तीनसय रुपैया दिए । त्यहि बोकेर काठमाडौ आए ।

डेरा खोज्न पनि गार्‍है थियो । अहिले जस्तो प्रशस्त घर थिएनन् । सिनामंगलमा बस्थे बिराटनगरकै मुकुन्द श्रेष्ठ र बद्री अधिकारी । बुढाथोकी त्यहीँ बसे उनीहरुसँगै रुम सेयर गरेर ।

तीन महिना रुम शेयर गरेपछि पुतली सडकमा मासिक ५० रुपैंया भाडामा एउटा कोठा भेटे । अनि छुट्टै बस्न थाले ।

शिव श्रेष्ठले दिए पाँच सय

नाटकमा अभिनय गरेर पारिश्रमिक पाउनु दुर्लभ मानिन्थ्यो । उनी आफैले लेखेको एउटा नाटक थियो ‘दुई लास एक चिहान’ । त्यो नाटकको प्रोड्युसर नायक शिव श्रेष्ठ, बिजय रेग्मी थिए । त्यसमा शिब श्रेष्ठले पनि अभिनय गरेका थिए । नाटक राम्रै चल्यो । दशै आउन लागेको थियो । बुढाथोकीसँग घर जाने पैसा पनि थिएन । त्यही वेला शिव श्रेष्ठले पाँच सय रुपैया दिए नाटकको पारिश्रमिक भनेर ।

तत्कालिन सयमा पाँच सय रुपैंया भनेको धेरै पैसा थियो । उनले त्यति धेरै पारिश्रमिक पाइएला भनेर सोचेकै थिएनन् । बुढाथोकी सम्झन्छन्, ‘पाँच सय पाएपछि शानले बिराटनगर गएँ र धुमधामले दशै मानेँ ।’

त्यसपछि उनलाई पैसाको समस्या त्यति परेन । एकेडमीले महिनाको तीनसय रुपैंया दिन्थ्यो । त्यो तीन सय छेलोखेलो हुन्थ्यो । ५० रुपैंया कोठाभाडा, ५० रुपैया कलेज फि । ८० रुपैंयामा मासिक दुई छाक भात खान पाइन्थ्यो होटलमा ।

त्यसपछि नाटकमै उनको ब्यस्तता बढ्न थाल्यो । ०४३ सालसम्म नाटकमै ब्यस्त भए ।

३० मिनेटको सिरियल

हरेक वर्ष एकेडमीले एकांकी नाटक मञ्चन गथ्र्यो । ०४२ सालमा एकांकी नाटक मञ्चन हुँदा निणर्ायक थिए नीर शाह । शाहको नेतृत्वले बुढाथोकीलाई उत्कृष्ट निर्देशकको उपाधि दियो ।

त्यही वेला शाहले सोधे, ‘तिमी टेलिश्रृङ्खला बनाउन सक्छौं ?’ बुढाथोकीले फ्याट्टै भने, ‘सक्छु ।’

त्यसपछि शाहलाई भेट्न उनी नेपाल टेलिभिजनमै पुगे । पहिल्यै सक्छु भनेकाले शाहले थप सोधेनन् । तर, बुढाथोकीलाई तनाव सुरु भयो, बनाउन त बनाउने तर, कसरी ? ज्ञान दिने मान्छे कोही थिएन । तत्कालिन आरएनएसी गए र नेपाल-भारत पुस्तकालयमा सिनेमा सम्बन्धी केही पुस्तक खोजे । पुस्तक पढे पनि तर, पार लाग्ने छाँट देखिएन ।

छायाँकार गौरी शंकर धुजुले भर्खरै एउटा भिडियो फिल्म बनाएका थिए । धुजुलाई गएर भेटे र भने ‘दाई एउटा टेलिफिल्म बनाउन लागेको तपाइले खिचिदिनु पर्‍यो ।’ धुजुले हुन्छ भन्दै सोधे ‘सबै तयार छ त ?’ बुढाथोकीले भने ‘अँ, तयार छ ।’ खासमा तयारी केही पनि थिएन ।

दुई दिन जति लगाएर बुढाथोकीले एउटा कथा तयार पारे । मुख्य पात्रमा बद्री अधिकारी लिए । आधी घण्टाको सिरियल सुटिङ गर्न मात्रै १५ दिन लाग्यो । सम्पादन गर्न पनि अर्को १५ दिन ।

एक महिना लगाएर बनाएको ३० मिनेटको सिरियल लिएर निर शाहको कार्यकक्षमा पुगे । शाहले तत्कालै हेरे र उत्साहित हुँदै भने ‘ल निकै राम्रो बनाएछौ । अब यसलाई टेलिश्रृङ्खला बनाउन पर्‍यो ।’

यसरी नेपालमै पहिलो टेलिश्रृंखलाको निर्देशक बने बुढाथोकी । त्यसपछि नीर शाहले निर्देशन गरेको २५ बसन्तमा सहायक निर्देशक भएर काम गरे उनले । त्यसपछि पनि धेरै जसो समय अभिनयमै सक्रिय रहे । टेलिफिल्म बनाइरहन्थे ।

‘अलिखित’ भन्ने सिरियलको निर्देशन बुढाथोकीले गरेका थिए । त्यसमा कलाकार थिए गणेश उप्रेती । सोही सिरियलमा काम गर्ने क्रममा उप्रेतीले भनेका थिए ‘म फिल्म बनाउछु । मेरो फिल्मको निर्देशन रमेश दाइले गर्नुपर्छ ।’

प्राय नारायणघाटमै बस्थे उप्रेती । सुटिङमा नारायणघाट जाँदा उप्रेतीसँग भेट भइरहन्थ्यो । फिल्म बनाउने कुराकानी टुङ्गियो र ‘मोहनी’ नाम राखेर पहिलो पटक फिचर फिल्म बनाए । जुन फिल्मले शानदार व्यापार गर्‍यो ।

फिचर फिल्ममा व्यस्त

‘अलिखित’ भन्ने सिरियलको निर्देशन बुढाथोकीले गरेका थिए । त्यसमा कलाकार थिए गणेश उप्रेती । सोही सिरियलमा काम गर्ने क्रममा उप्रेतीले प्रस्ताव राखेका थिए, ‘म फिल्म बनाउँछु । मेरो फिल्मको निर्देशन रमेश दाइले गर्नुपर्छ ।’

प्रायः नारायणघाटमै बस्थे उप्रेती । सुटिङमा नारायणघाट जाँदा उप्रेतीसँग भेट भइरहन्थ्यो । फिल्म बनाउने कुराकानी काममै गएर टुङ्गीयो र ‘मोहनी’ नाम राखेर पहिलोपटक फिचर फिल्म बनाए । फिल्म हिट भयो । मोहनीका गीतले तत्कालीन समयमा तहल्कै मच्चाएका थिए ।

त्यसपछि बुढाथोकीले जुततारा, अप्सरा, लगनगाँठो, फेरि तिम्रो याद आयो, जिद्धी, बाबु साहेब, जीवनमृत्यु, दी ग्याम्बरल, पल जस्ता फिल्म निर्देशन गरे । उनले निर्देशन गरेका धेरै फिल्म व्यापारिक रुपमा सफल भएका छन् ।

लामो सिरियलका निर्देशक

नेपाल टेलिभिजनका लागि पहिलो सिरियल बनाएर रेकर्ड राखेका गरेका बुढाथोकीले लामो सिरियलमा पनि बाजी मारे । उनको निर्देशनमा बनेको सिरियल ‘कसलाई आफ्नो भनुँ’ ९ सय ८० भागसम्म चल्यो, जुन आफैंमा रेकर्ड हो । नेपाल वान टेलिभिजनवाट प्रशारण हुने उक्त सिरियलले दर्जनौ कलाकार समेत जन्माएको छ ।सा भा अनलाईन खबर