आयल निगमको जग्गा खरिदमा अनियमितता, कारबाही गर्न मन्त्रीको आनाकानी

0 23

काठमाडौं, १९ भदौ । संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषीमाथि कारबाही सिफारिस गरेको विषय आफूलाई जानकारी नभएको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलले उम्किने प्रयास गरेका छन् ।आजको नागरिक दैनिकमा  खबर छ ।

मन्त्री मण्डलले शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस विषयमा आफूलाई सार्वजनिक लेखा समितिको पत्र प्राप्त नभएको बताएका हुन् । मन्त्री मण्डलले उम्किन यस्तो बताए पनि लेखा समितिले साउन २२ गते आपूर्ति मन्त्राललाई उक्त निर्णयको पत्र बुझाएको प्रमाण भेटिएको छ ।

समितिले मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार राई, निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बोलाएर छलफल गरी कागजातको समेत अध्ययन गरेर गम्भीर अनियमितता देखिएकाले जिम्मेवार पक्षलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने र त्यसको जानकारी तालुकदार आपूर्ति मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । तर, आपूर्ति मन्त्री भने यसमा उदासीन देखिएका छन् ।