आज नेपालकै पहिलो पीआईए, शिवम् होङ्सी सिमेन्टले ३६ अर्ब भित्र्याउँदै

0 24

काठमाडौं,१८ भदौ । लगानी बोर्डले आइतबार होङ्सी सिवम् सिमेन्टसँग परियोजना लगानी (पीआईए) सम्झौता गर्दैछ । चीनको हङकङ रेड लायन र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा बनाइको होङ्सी सिवम् सिमेन्ट कम्पनीसँग लगानी बोर्डले आज पीआईए गर्न लागेको हो ।

यो सम्झौता भएसँगै उसले निर्माण कार्य अघि बढाउने बाटो खुल्छ । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार यसको कुल लगानी ३६ अर्बमध्ये ७० प्रतिशत होङ्सी र बाँकी शिवम् सिमेन्टको हिस्सा रहनेछ । हङकङ रेड लायनले शिवमसँग मिलेर होङ्सी शिवम् सिमेन्ट उद्योग दर्ता गरिसकेको छ ।

दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित ३६ अर्ब रुपैयाँ लगानीमा नयाँ यो सिमेन्ट उद्योग खुल्न लागेको हो । नवलपरासीको बेणीमनिपुर गाविसस्थित बेलुवामा निर्माण हुने होङ्सी शिवम् सिमेन्ट उद्योगले दुई हजार जनालाई रोजगार दिने लक्ष्य लिएको छ ।

यसले सन् २०१९ को सुरुदेखि सिमेन्ट उत्पादन सुरु गर्ने छ । पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । त्यसको दुई वर्षपछि दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्नेछ ।

यसबाट ओपिसी र पिपिसी दुवै सिमेन्ट उत्पादन हुनेछ । नेपालमा एउटै सिमेन्ट उद्योगमा हुन लागेको यो सबभन्दा ठूलो लगानी हो । साथै आइतबार हुन लागेको पीआईए नेपालमा पहिलो पीआर्इए भएको लगानी बोर्डका अधिकारीहरु बताउँछन् ।

पीआर्इएमा पीडीए (बिस्तृत लगानी सम्झौता) मा जस्तो सरकारी सुविधा प्राप्त हुँदैन । निश्चित समयपछि सरकारकै स्वामित्वमा जानेमा मात्रै पीडीए गरिन्छ । तर यो विशुद्ध निजी लगानीमा निर्माण हुन लागेको उद्योग हो, जसका कारण यसमा पीआर्इए गर्न लागिएको हो ।

नवलपरासीमा सिमेन्ट उद्योगको स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । जग्गा हदबन्दीका कारण यसले आवश्यक जग्गा लामो समयसम्म खरिद गर्न सकेको थिएन । यसका लागि २ सय ५० बिघा जमिन आवश्यक छ ।

५० बिघा यसले आफ्नै कम्पनीको नाममा खरिद गरी अन्य केही जग्गा ब्यक्तिका नाममा किनेर राखेको थियो । तर अब बाँकी १ सय ५० बिघाका लागि पनि हदबन्दी फुकाइसकेको वाग्लेले जानकारी दिए ।