अमेरिकामा आयोजना गरेको श्रीमदभागवत महापुराणमा २५ लाख ५० हजार डलर संकलन

0 32

अमेरिका,१ सेप्टेम्बर, । रिजउड नेपाली समाजले अमेरिकामा आयोजना गरेको श्रीमदभागवत महापुराणमा २५ लाख ५० हजार डलर संकलन भएको छ । अमेरिकामा सांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको महापुराणको अन्तिम दिन यति रकम उठेको हो ।

सांस्कृतिक केन्द्र निर्माणका लागि प्राप्त सहयोगले सांस्कृतिक केन्द्र निर्माणको सपना पूरा हुने भएपछि न्युयोर्कमा रहेका नेपाली उत्साहित भएका छन् ।

महापुराणको अन्तिम दिन अगस्त २९ तारिखमा नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा महामहापुराणमा १ लाख २५ हजार ५ सय ५५ डलर प्रदान गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका अहिलेसम्म कै सबैभन्दा ठूलो रकम दान दिने संस्था बनेको छ ।

अगस्त २९ तारिखका दिन रिजउड नेपाली समाजका पूर्वअध्यक्ष श्री पराजुलीले अहिलेसम्म कै व्यक्तिगत दान १ लाख ११ हजार १ सय ११ डलर गरेका छन् । यसै गरि एनआरएन अमेरिकाका अध्यक्ष डा। केशव पौडेलले १० हजार १ डलर दान दिएका छन् । गौरी जोशीले ५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट सहयोग गरेका छन् । एनआरएन अमेरिकाकी उपाध्यक्ष रबिना थापाले १४ हजार ८ सय ८३ डलर दान गरेको आयोजकले जनाएको छ ।

संस्थाले नेपालीहरुको आगमन र अमेरिकामा जन्मेका हुर्केका बालबालिकालाई सांस्कृतिक केन्द्रका माध्यमद्वारा एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस भन्ने उद्देश्यले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको सहयोगार्थ सप्ताहव्यापी ऐतिहासिक दोस्रो वृहत श्रीमद्भभागवत पुराणको आयोजना गरेको हो ।

श्रीमदभागवत महापुराणको वाचन पण्डित दीनबन्धु पोखरेले गरेका थिए ।

महा पुराणमा कलशसहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिएको थियो । कार्यक्रम अवधिभर सांस्कृतिक केन्द्रको निर्माणका लागि करिब १० ९दस लाख० डलर संकलन गर्ने उद्देश्यले आयोजना गरिएको ऐतिहासीक दोस्रो भागवत बृहत महापुराणमा १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट डलर उठाउन सफल भएको छ ।

रिजउड नेपाली समाज सामाजिक सेवाको भावनाले स्थापित गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइपर्ने विविध समस्या समाधानमा सहयोग पुर्याउने उद्देश्यले सन् २००३ मा यो संस्था दर्ता भएको थियो ।