प्रधानमन्त्रीबाटै निर्वाचन आचारसंहिताको उल्लंघन

0 19

काठमाडौं, १५ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै भोलिपल्ट प्रधानमन्त्री शेरवहादुर देउवा आचारसंहिता विपरित महाकाली नदीको पुल शिलान्यास गर्न कन्चनपुर पुगेका छन् । आयोगले बुधवार रातिदेखि निर्वाचन आचारसहिता लागू गरेको छ ।

प्रधानमन्त्री देउवाले महाकाली नदीमा बन्न लागेको ४ लेनको पुल शिलान्यास गर्दैछन् । उनी बुधवारै धनगढी पुगेका थिए । निर्वाचन आयोगका नवनिवयुक्तः प्रवक्ता नवराज ढकालले पूर्व निर्धारित कार्यक्रमको बारेमा सम्भवतः आयुक्त तहमा प्रधानमन्त्री कार्यालयले सहमति लिएको हुनसक्ने बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले निर्वाचन आयोगले आचारसंहिता लागू गर्नुअघि नै प्रधानमन्त्री शिलान्यासकै लागि धनगढी पुगिसकेको बताए । उनले पूर्वनिर्धारित कार्यक्रम भए पनि निर्वाचन आयोगको सहमति लिएर पुल शिलान्यास गर्न लागिएको बताए ।

निर्वाचन आचारसंहिता लागू भएपछि पूर्वनिर्धारित कार्यक्रमहरुमा पनि प्रधानमन्त्री र मन्त्रीले आचारसंहिता विपरित उद्घाटन र शिलान्यास गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश, उद्घाटन गर्ने, सर्वेक्षण तथा अध्ययन गर्ने तथा अनुदान दिने जस्ता कार्यक्रम गर्न गराउन पाइँदैन ।

निर्वाचन एमाले नेताका टाउकोमात्रै हेर्छः योगेश भट्टराई

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता लागू भएको भोलिपल्टै उल्लंघन गर्नु आपत्तिजनक रहेको प्रमुख विपक्षी नेकपा एमालेले प्रतिक्रिया दिएको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको पहिलो उल्लंघननै प्रधानमन्त्रीबाट हुनुले यो सरकारले निष्पक्ष र स्वच्छ निर्वाचन गराउँदैन भन्ने पुष्टि भएको एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आरोप लगाए ।

उनले भने ‘एमाले नेता माधवकुमार नेपालले चुनाव प्रचारका बेला टोपी लगाएको देख्ने निर्वाचन आयोग प्रधानमन्त्रीले पुल शिलान्यास गरेको पनि देख्दैन भने निष्पक्ष निर्वाचनमा आशंका हुन्छ ।

उनले थपे, ‘निर्वाचनलाई प्रभावित पार्ने गरी सिडिओ र प्रहरी प्रमुखहरुको सरुवा भइरहेको छ । निर्वाचन आयोग भने एमाले नेताहरुको टाउकोमा कस्तो टोपी छ भनेर हेर्दै हिड्नु चिन्ताको बिषय हो ।