अबरुद्ध मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड पहिरो पन्छाएपछि सञ्चालनमा

0 17

 

ताप्लेजुङ, १५ भदौ । गएरातिदेखि अबरुद्ध मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड पहिरो पन्छाएपछि आज बिहानबाट सञ्चालनमा आएको छ ।

विहान वर्षा रोकिनासाथ सडक मर्मत र सफाई गर्न सुरु गरीएसँगै विहान १० बजेबाट सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

गत वर्षको भदौ १७ गते राति फुङलिङ नगरपालिका ८ मा पर्ने दोखुस्थित धुसेनी भीरदेखि बहानन्देसम्म बिभिन्न स्थानमा झरेको पहिरोबाट आएको भलबाढीले सडक पुरेको र बगाएको कारण विहानैदेखि यातायात अबरुद्ध थियो ।

सडक सञ्चालनमा आएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

२४ घण्टामा ताप्लेजुङमा वर्षकै सबै भन्दा बढी ८६।७ मिलिमिटर वर्षा भएको थियो । वर्षाका कारण मेची राजमार्ग अबरुद्ध भएको थियो भने जिल्लाका ग्रामिण क्षेत्रका सडक पनि हिलाम्मे हुँदा सवारी सञ्चालनमा कठिनाई भएको छ ।