निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदै

0 21

काठमाडौं, १४ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदैछ । आयोगले आज साँझ पाँच बजे प्रतिवेदन बुझाउन लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार बालुवाटारस्थित निवासमा प्रतिवेदन बुझ्ने कार्यक्रम निर्धारण गरिएको छ ।

पूर्वन्यायाधीश कमल नारायण दासको नेतृत्वमा गत साउन पाँच गते सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्न गठित आयोगको सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेशराज कार्की छन् । सदस्य सचिवमा वेगेन्द्रराज शर्मा पौडेल छन् ।

आयोगलाई काम सुरु गरेको मितिदेखि २१ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, तोकिएको समयमा काम नसकिएपछि १५ दिन म्याद थपिएको थियो । थपिएको म्याद सकिने दिनमै आयोगले बुधबार प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगले साविकका २ सय ४० वटा निर्वाचन क्षेत्रलाई संविधानअनुसार १ सय ६५ वटा कायम गर्ने जिम्मेवारी पाएको छ ।