मुगुका किसानको आम्दानीको मुख्य स्रोत स्याउ रुख मै कुहिन थाल्यो

0 15

मुगु,१४ भदौ । मुगुका किसानको आम्दानीको मुख्य स्रोत स्याउ रुख मै कुहिन थालेको छ । निकासीमा समस्या भएपछि स्याउ रुखमै कुहिन थालेको हो ।

लगातारको वर्षाले पहिरो गएपछि गमगढी–नाग्म सडक खण्ड अवरुद्ध छ । तर, अवरुद्ध सडक खुलाउने प्रयास भएका छैनन् । सडक नबन्दा किसान पाकेको स्याउ टिप्न डराइरहेका छन् ।

सडक अवरुद्ध भएसँगै किसानहरुलाई पाकेको स्याउ बजारसम्म पठाउन समस्या भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लले बताए ।

‘बाटो नहुँदा पाकेका स्याउ धमाधम कुहिन थालेको छ’, मल्लले भने, ‘स्याउ कुहिन थालेपछि हामीले भण्डार गर्न भनेका छौं ।’

मुगुको स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाडौंका बजारसम्म पुग्ने गरेका छन् ।

यस वर्ष मुगुमा अघिल्ला वर्षको तुलनामा बढी स्याउ फलेको किसानहरुले बताएका छन् । तर, सडक अवरुद्ध हुँदा किसान चिन्तित भएका छन् ।

प्याकेजिङ्गको समस्या पनि उस्तै

पाकेको स्याउ टिपेर व्यवस्थित प्याकेजिङ गर्न नसक्दा पनि किसानहरुलाई समस्या छ ।

कृषि विकास कार्यालयले अघिल्ला वर्षहरु स्याउ प्याक गर्न कार्टुन उपलब्ध गराउँदै आएको थियो । तर, योपटक समयमै कार्टुन नपाएपछि किसानहरुले स्याउ टिप्न ढिला गरेका हुन् ।

‘यो वर्ष स्याउ बढी फलेको छ, तर आधुनिक भण्डारण र प्याकेजिङ्ग गर्न समस्या भएको छ,’ एक किसानले भने ।

तर, जिल्ला कृषि विकास कार्यालयले भने किसानहरुलाई कार्टुन उपलव्ध गराइएको बताएको छ । नपुगेको ठाउँबाट माग भई आए अरु पनि दिन सकिने कार्यालयको भनाइ छ ।