साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा भारतबिरुद्ध नेपालको अग्रता

0 22

काठमाडौं, ११ भदौ। साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको ४१औं मिनेटमा नेपालले पेनाल्टीमार्फत अग्रता लिएको हो ।

भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए ।

स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।

समूह चरणमा भारतसँग २(१ ले पराजित भएको नेपालले फाइनलमा पहिलो हाफसम्म भारतलाई दवावमा राखेको छ ।

सेमिफाइनलमा बंगलादेशलाई ४(२ ले पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । त्यस्तै भारत भुटानलार्इ ३(० ले हराउँदै फाइनलमा पुगेको थियो ।

पहिलो हाफको इन्ज्यूरी समयमा भारतले गोलका लागि राम्रो अवसर पाएको थियो । भारतीय स्ट्राइकर रिक्की जोनको हेड नेपाली गोलरक्षक बिशाल सुनारले राम्ररी कलेक्ट गर्न सकेनन्, त्यस बललाई डिफेण्डर सञ्जीव अर्यालले गोललाईनबाट क्लियर गरेका थिए ।

भारतीय खेलाडीहरुले गोल भएको भन्दै रेफ्रीको निर्णयको बिरोध जनाइरहँदा रेफ्रीले पहिलो हाफ सकिएको जनाउ दिएका थिए ।