कास्कीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले गुण्डागर्दी रोक्ने दाबी गरे

0 27

पोखरा, ११ भदौ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले कास्कीमा हुनेगरेका गुण्डागर्दी रोक्ने दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार पत्रकार सम्मेलन गरेर एसपी सिंहले जिल्लाको सुरक्षा व्यवस्थामा सुधार गर्न १५ बुँदे कार्ययोजना सार्वजनिक गर्दै गुण्डागर्दी रोक्ने बताएका हुन् । गुण्डागर्दी अन्त्यका लागि आफूले शून्य सहनशीलता अपनाउने घोषणा गरे ।

गुण्डागर्दी मौलाउँदै जाँदा त्यसले समाजमा आतंक सिर्जना गर्नेभन्दै उनले यसको नियन्त्रण आफ्नो पहिलो एजेण्डा भएको एसपी सिंहले बताए । दुई साताअघिमात्रै सरुवा भएर कास्की प्रहरीको नेतृत्व सम्हालेका उनले भने अपराध नियन्त्रण तथा रोकथाम मेरो पहिलो प्राथमिकतामा छ गुण्डागर्दी रोक्न सबै किसिमको प्रयास गर्छु ।

गुण्डागर्दी रोक्नका लागि विभिन्न चरणमा काम गर्ने उनको भनाइ छ । उनका अनुसार पहिलो चरणमा गुण्डागर्दी गर्ने व्यक्तिको पहिचान गर्ने उसले गरेको अपराधको खोजी गर्ने र त्यसपछि पक्राउ गरेर कडा कार्वाही गर्ने काम हुनेछ ।

एसपी सिंहले लागू औषध कारोबार रोकथाम तथा नियन्त्रण गर्ने चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्ने उनले जानकारी दिए ।

त्यस्तै पोखराको ट्राफिक व्यवस्थापनका लागि सुधार योजना ल्याउने उनले बताए । एसपी सिंहले फरार अपराधीको खोजीलाई तिव्र बनाउने र उनीहरुलाई कार्वाही गर्ने गरेरै छाड्ने दृढता व्यक्त गरे । उनले भष्ट्राचारमा पनि शून्य सहनशिलता अप्नाउने उद्घोष गरे ।

भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भए आफूले कसैको भनसुन नसुनी कडा कार्वाही गर्ने बताए । उनले प्रहरी भित्र पनि आन्तरिक शुद्धीकरण थाल्ने बताए । प्रविधि मैत्री प्रहरी सेवा कार्यालयका भौतिक संरचना निर्माण, महिला हिंसा विरुद्ध अभियान लगायतका कार्यक्रम जारी राख्ने उनले बताए ।

चाडपर्वमा विशेष सुरक्षा जुवातासबाट साढे २० लाख बरामद

कास्की प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याउने भएको छ । चोरी, लुटपाट र जुवातास रोक्न विशेष सुरक्षा योजना बनाउने एसपी सिंहले बताए ।

विशेष क्षेत्र निर्धारण गरेर सुरक्षा तैनाथी बढाउने तथा संकास्पद अपराधीहरु पहिचान गरी तिनीहरुलाई निगरानीमा राखेर पक्राउ गरी कार्वाही गर्ने योजना रहेको उनले जानकारी दिए ।

कास्की प्रहरीले जुवातास खेल्नेहरुबाट साढे २० लाख रुपैयाँ बरामद गरेको जनाएको छ । आफू कास्की प्रहरी प्रमुख भएर आएपछि ११ स्थानबाट जुवातास खालमा रंगेहात पक्राउ गर्दा ८२ जना जुवातास खेल्ने पक्राउ गरेको र उनीहरुको साथबाट २० लाख ४२ हजार बरामद गरेको जानकारी दिए ।

चोरीको आरोपमा ६ जना समातिए

यसैवीच कास्की प्रहरीले ६ जना चोरहरु पनि आइतबार सार्वजनिक गरेको छ । प्रहरीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ मा चोरी गरी फरार ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

प्रहरीले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ की राधिका चापागाईंको घरमा चोरी गर्ने माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ कै भिच्चोक घर भएका ईन्द्र भनिने २० वर्षीय सूर्यमान विक १७ वर्षीय सञ्जय गुरुङ १६ वर्षीय विमल सुनार १७ वर्षीय मदन गुरुङ पर्वत चित्रे गाउँपालिका वडा नम्बर २ माझगाउँ घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० बुढीबजार बस्ने २७ वर्षीय अनिल विक र पर्वत राम्जा देउराली घर भई पोखरा बगर बस्ने २७ वर्षीय प्रकाश पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुका साथबाट ३ तोला ५० लाल सुन, आइप्याड र आइफोन एकरएक थान तथा विभिन्न कम्पनीका ९ थान मोबाइलसमेत बरामद गरेको एसपी सिंहले जानकारी दिए ।