हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर

0 39

भदौ ११ ।बागलुङ नगरपालिका १३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बन्नुभएको छ ।

बुधबार राति साढे ९ बजे त्रिभुवन विमानस्थलबाट बाहिरिएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । गएको मंसिरमा रोजगारीका लागि विदेशिएका शर्मा आठ महिनामै घर फर्कनुभएको थियो ।

शर्माको परिवारले खोजीका लागि प्रहरीलगायत सबैसँग आग्रह गरेको छ । विमानस्थल ओर्लेपछि शर्माले श्रीमती सवितालाई फोन गरी आफू आएको जानकारी गराउनुभएको थियो । बिहीबार बिहान पुनः श्रीमतीलाई फोन गरेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको शर्माका दाजु टीकाराम शर्माले बताउनुभयो ।

शर्मालाई लिन हिँडेका श्रीमती सविता र जेठान गोपाल सडक जामका कारण बेलैमा विमानस्थल पुग्न सकेका थिएनन् । प्रहरीको ‘रिपोर्ट’ अनुसार चितवनको दासढुंगासम्म शर्माको मोवाइलको ‘ट्रयाकिङ’ भएको जनाइएको छ ।

शुक्रबार दिउँसो र शनिबार पनि नारायणगढमा देखिएको भन्ने अपुष्ट खबर आए पनि अहिलेसम्म नभेटिएको परिवारले जनाएको छ । “प्रहरी र आफन्तसँग खोजीका लागि सहयोग मागेका छौँ, अझै केही पत्तो लागेको छैन” टीकारामले भन्नुभयो ।

चितवनमा रहेका शर्माका आफन्तजनले प्रहरीसँग मिलेर खोजी कार्य जारी राखेका छन् । गहुँगोरो वर्ण, साढे पाँच फिट उचाइ भएका शर्मालाई देखे–भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८५५०५४४९० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । शर्मा अस्वस्थ भएपछि नेपालमै आई उपचार गर्ने भन्दै विदेश गएको छोटो समयमै घर फर्केको जनाइएको छ ।