वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको हचुवा शैलीले कांग्रेस कमजोर बनेको आरोप लगाए

0 25

तनहुँ, ११ भदौ, । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको हचुवा शैलीले कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । उनले नेतृत्वले सबैलाई नसमेट्दा स्थानीय तह चुनावमा पार्टीले क्षति व्यहोरेको समेत दाबी गरे ।

‘हचुवा शैलीमा काम गर्ने नेतृत्वको परिपाटीले कांग्रेस पार्टी शक्तिहीन हुँदै गइरहेको छ,’ तनहुँको दमौलीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘यो शैली नबदल्ने हो भने कांग्रेसले थप क्षति व्यहोर्ने छ ।’ संसदीय समिति बनाएर स्थानीय तह निर्वाचनमा उम्मेदवारी चयन नगर्दा भद्रगोल भएको उनको तर्क छ । उनले पार्टी विभाग र प्रदेश समिति गठन नहुँदा अनेक कठिनाई झेल्नुपरेको बताए ।

यसैबीच, नेता पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी पक्षमा देखिएकाले निर्वाचनको माहोल बनेको बताएका छन् । उनले चुनावविरोधी शक्तिहरु निर्वाचनमा आएकाले प्रदेश र संघको निर्वाचन निर्धारित मिति मै हुने दाबी गरे ।

उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे ।