कोर्स करेक्सन गर्ला त भारतले ?

0 33

काठमाडौं,७ भदौ । संयोग नै मान्नुपर्छ, जुन दिन सरकारले प्रदेश र संसदको चुनाव घोषणा गर्‍यो, त्यही दिन साँझ संसदले संविधान संशोधन विधेयक अस्वीकृत गर्‍यो । त्यसको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली यात्रामा निस्किएका छन् ।

राजकीय भ्रमण पाँच दिनको छ तर, भेटवार्ताका हिसावले भ्रमणको मुख्य दिन भोलि बिहीबार छ । भोलि प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्नेछन् । यो भेट यसकारण पनि अर्थपूर्ण छ कि यसले भारतले नेपाल मामिलामा आफ्नो पोलिटिकल कोर्स करेक्सन गर्ला नि नगर्ला भन्ने निर्धारण गर्छ ।

१ असोज २०७२ काठमाडौं आर्लिएका मोदीका विशेष दूत तथा विदेश सचिव एस जयशंकरले प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर संविधान केही दिन रोक्न भनेका थिए । तर, दलहरुले नमानेपछि उनले कफ्र्यू लगाएर जारी हुने संविधानलाई कसरी स्वागत गर्ने भन्ने प्रश्न मात्र गरेनन्, ठीक नहुने चेतावनी दिएर फर्किए ।

नभन्दै ३ असोजमा संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगायो ।

नाकाबन्दीका कारण बिग्रेको कोर्स संविधानको स्वागत नगरुन्जेल करेक्सन भएको मान्न सकिँदैन

नाकाबन्दी हटेपछि भारतले यो कोर्स करेक्सन गरेको छैन । यसबीचमा नेपालमा तीन प्रधानमन्त्री भए । प्रधानमन्त्री केपी ओलीसँग भारतको सम्बन्ध राम्रो हुन सकेन । ८ फागुन ०७२ मा ओली र मोदीबीच भेट भयो तर संयुक्त विज्ञप्ति जारी भएन । कारण थियो, संविधान । भारतले नेपालको संविधान अधुरो रहेको वाक्यांश घुसाउन खोजेपछि संयुक्त वक्तव्य नै जारी भएन ।

त्यसपछि कांग्रेस(माओवादी गठबन्धनबाट प्रधानमन्त्री भएका पुष्पकमल दाहाल र मोदीबीच ३० भदौ ०७३ मा दिल्लीमा भेट भयो । र, संयुक्त वक्तव्य पनि आयो । तर, भारतले नेपालको संविधानलाई स्वागत गरेन, संशोधनका लागि गरेको पहलको समर्थन मात्र जनायो ।

मोदीले भोलि संविधान जारी भएपछिका तेस्रो प्रधानमन्त्रीका रुपमा देउवालाई स्वागत गर्दैछन् ।

यसबीचमा नेपाल(भारत सम्बन्धमा थुप्रै उतारचढाव आए, त्यसमध्ये सबैभन्दा महत्वपूर्ण हो, संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत हुनु । ५ भदौमा संसदमा भएको मतदानमा संशोधनको पक्षमा आवश्यक दुई तिहाई बहुमत पुगेन । यसले प्रष्ट सन्देश दिएको छ, यो संसद रहँदासम्म अब संविधान संशोधनको कोर्स पुरा हुन सक्दैन ।

राजपाले संशोधन विधेयकलाई मतदानमा लैजानुमै चित्त बुझाएको छ र चुनावमा जान तयार भएको छ ।

हो, भोलि मोदीलाई भेट्दा देउवाले संविधान संशोधन कहिले हुन्छ भन्ने प्रश्नको सामना गर्नु पर्नेछैन ।

उसो भए अब भारतले पनि आफ्नो कोर्स करेक्सन गर्छ त रु नेपाल(भारत मालिलाका जानकारहरुका अनुसार जबसम्म भारतले नेपालको नयाँ संविधानको स्वागत गर्दैन, तबसम्म भारतको ‘हस्तक्षेपकारी’ यो कोर्स करेक्सन भएको मान्न सकिँदैन ।

उनीहरुका अनुसार भोलि देउवासँगको भेटपछि हुने संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले चुनावमा सबैको सहभागिता हुने सुनिश्चित भएकामा स्वागत गर्न सक्छन् ।

तर, संविधानको विषयमा मौन बस्न सक्छन् । यसलाई कोर्स करेक्सन मान्न सकिँदैन । किनकि, मौनतापूर्वक नेपालको संविधान अपूर्ण छ भन्ने भारतीय दृष्टिकोण कायमै रहन्छ ।

भलै सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवालाई संविधानको स्वागत गराउने प्रयास गर्न आग्रह गरेका छन् ।

एक नेता भन्छन्, ‘यदि संविधान संशोधन भएको भए त्यसले सबैलाई समेट्ने स्थिति बन्यो भनेर स्वागत गर्ने सम्भावना थियो । तर, संशोधन नभएकाले आफ्नो अडानलाई गलत सावित हुने गरी वक्तव्य आउने सम्भावना छैन ।’

के होला भारतको अबको कदम रु

संविधानबारे आफ्नो असन्तुष्टि कायम रहे पनि भारतसँग नेपालले लिएको राजनीतिक कोर्सलाई समर्थन गर्नुको विकल्प हुने छैन । त्यसैले उसले चुनावको स्वागत गर्नेछ । कांग्रेसका एक नेता भन्छन्, ‘यसअघि भारतले प्रत्येक पटक सबैलाई समेट भन्दै आएको थियो । अब चुनाव गर र स्थिरताको बाटोमा लैजाऊ भन्ने सन्देश दिन्छ ।’

रणनीतिक रुपमा भने मोदी सरकारले नेपालमा एमाले इतरको गठबन्धनलाई प्राथमिकता दिनेछ । उसका लागि त्यसको विकल्प पनि देखिँदैन । किनकि, वर्तमान गठबन्धनको विकल्प भनेको एमाले अध्यक्ष केपी ओलीको नेतृत्व हो, जुन भारतले चाहेको छैन । त्यसैले आसन्न चुनावलाई हेरेर भारतले वर्तमान सरकार र प्रधानमन्त्री देउवालाई सफल देखाउने प्रयत्न गर्नसक्छ ।

यसका लागि भारतबाट नेपाललाई ठूलै सहयोगको कुनै घोषणा भए अनौठो नहुने जानकारहरु बताउँछन् ।

भलै ओली सरकारको पालामा जस्तो उत्तेजक कूटनीति भारतले वर्षदिनयता नदेखाएको होस्, आफ्नो एजेन्डा छाडिसकेको भने मान्न सकिँदैन ।साभार अनलाईन खबर