अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले जोन्सन एण्ड जोन्सनलाई सर्वाधिक महँगो क्षतिपूर्ति तिर्न आदेश

0 22

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले फर्मास्युटिकल कम्पनी जोन्सन एण्ड जोन्सनलाई इतिहासकै सर्वाधिक महँगो क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

एक जना अमेरिकी महिलाले जोन्सन एण्ड जोन्सन कम्पनीको टेल्कम पाउडर प्रयोग गरेपछि आफूलाई गर्भाशयको क्यान्सर भएको आरोप लगाउँदै दायर गरेको मुद्दाका क्रममा ती महिलालाई झण्डै २७ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो । अभ्रकयुक्त उत्पादनबाट हुनसक्ने क्यान्सरको खतराका बारेमा कम्पनीले पूर्वजानकारी नगराएको ती महिलाको आरोप थियो ।

यसखालको मुद्दामा तोकिएको जरिवाना रकम इतिहासकै सर्वाधिक धनराशिको रहेको बीबीसीको समाचारमा उल्लेख छ । कम्पनीले यो फैसलामा पुनरावेदन दिने बताएको छ । जोन्सन एण्ड जोन्सनकी प्रवक्ता कैरोल गुडरिचले भनेकी छन्, ‘‘हामीले यो फैसलाका विरुद्ध निवेदन दिन्छौं, किनभने हामी विज्ञानमा विश्वास गर्छौं । गुडरिचका अनुसार पाउडरको उपयोगले क्यान्सर भएको भन्ने कुराको पर्याप्त प्रमाण पाइँदैन ।

अमेरिकाको न्यूजर्सीस्थित जोन्सन एण्ड जोन्सनको मुख्यालयमा हजारौं महिलाहरूले यो पाउडर लगाउनाले आफूहरू गर्भाशयको क्यान्सरको शिकार भएको दाबी गरेका छन् । उनीहरूले गुप्ताङ्गको पसिना सोस्नका लागि यो पाउडर प्रयोग गर्दै आएको बताएका छन् । कम्पनीलाई यसबारे थाहा भएको तर उसले यो कुरा उपभोक्ताबाट लुकाएको महिलाहरूको आरोप छ ।

कम्पनीले यसअघि पनि यसैखालका पाँचमध्ये चारवटा मुद्दा हारिसकेको छ र झण्डै २० अर्ब रुपैयाँ क्षतिपूर्ति तिरिसकेको छ ।