पृथ्वीचोक मा रहेको आइल्याण्ड चार मिटरमा सीमित गरिने

0 39


पोखरा, १ भदौ। पोखराको सबैभन्दा व्यस्त पृथ्वीचोक (लखनचोक)मा रहेको आइल्याण्ड चार मिटरमा सीमित गरिने भएको छ । हालको १४ मिटर डायोमिटर रहेको पृथ्वीचोकको आइल्याण्ड घटाएर ४ मिटरमा सीमित गर्न लागिएको हो ।

हालको आइल्याण्डको परिधी ४३ मिटर छ भने अब यो घटेर करीब १२ मिटरमा झर्नेछ । पृथ्वीचोकको हालको आइल्याण्ड भद्दा, फराकिलो र अग्लो हुँदा ट्राफिक प्रहरीको संख्या धेरै खटाउनु पर्नुका साथै ट्राफिक जाम र दुर्घटनालगायतका समस्यासमेत आएपछि यसको आकार घटाउन लागिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

आइल्याण्डको आकार घटाउन सडक डिभिजन कार्यालयले पोखरा लेखनाथ महानगरपालिकासँग स्विकृति लिइसकेको छ । तर हाल ४ मिटरमा सीमित गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन । आइल्याण्डको आकार घटाउन पोखरा लेखनाथ महानगरपालिकाको समन्वयमा पटक–पटक छलफल भएर आकार घटाउने निश्कर्षमा पुगेपछि सडक डिभिजन कार्यालय पोखराले कत्रो आकारको आइल्याण्ड बनाउन उपयुक्त हुन्छ भन्ने अध्ययन गर्न सडक विभाग अन्तर्गतको ‘रोड एण्ड ट्राफिक युनिट’ पुल्चोकलाई खटायो ।

युनिटले आइल्याण्डमा हुने सवारी चाप, त्यसको असर, जामको अवस्था हेरेर आइल्याण्ड ४ मिटरमा सीमित गर्न सुझाव दिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम प्रकाश खत्रीले जानकारी दिए ।

रोड एण्ड ट्राफिक युनिटको प्रतिवेदन अनुसार नै आइल्याण्डको आकार खुम्च्याउने तयारी थालिएको उनले बताए । त्यसका लागि पोखरा(लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग छलफल भएको तर उहाँ काठमाडौं भएकाले निर्णय भने भइनसकेको उनले बताए । महानगरसहित सरोकारवालासँग सहमति गरेर निर्णय भएपछि आइल्याण्डको आकार घटाउन सडक विभागमा अनुमति माग्नका लागि पत्र पठाइने उनले जानकारी दिए ।

मगर संघको असहमति

आइल्याण्ड सानो आकारको बनाउन सरोकारवाला सबै पक्ष सकारात्मक भएपनि नेपाल मगर संघ भने मानेको छैन । उसले आइल्याण्ड परिसरमा रहेको प्रथम शहीद लखन थापाको शालिक जोखिम हुने भन्दै सानो आकारको बनाउने निर्णयमा असहमति जनाउँदै आएको छ ।

संघले यसअघि हालको आइल्याण्डको आकार ५ मिटर मात्र घटाउने निर्णय भएकाले सो निर्णय बाहेक अर्को निर्णय मान्य नहुने बताएको छ । आफूहरुको पूर्वधारणा अनुसार हालको आइल्याण्डमा ५ फुट घटाउने बाहेक तलमाथी गर्न नमिल्ने बताउँदै उनले भने, ‘हाम्रो धारणा भनेको ५ फुट घटाउने भन्ने नै हो, त्यो भन्दा अर्को निर्णय भएको छैन र त्यसबारे सोंचेको पनि छैन ।

पोखरा लेखनाथ महानगरपालिकाको २०७३ साल पुष ११ गते बसेको बैठकले पृथ्वीचोकको आइल्याण्ड ५ फुट घटाउने निर्णय गरेको थियो । तर सडक डिभिजन कार्यालय पोखराको आग्रहमा ‘रोड एण्ड ट्राफिक युनिट’ को प्रतिवेदनले हालको आइल्याण्डमा ५ फुट मात्र घटाउने हो भने त्यसले ट्राफिक ब्यवस्थापनमा खासै सुधार नआउने निश्कर्षसहित आइल्याण्ड घटाएर ४ मिटरमा सिमित गर्न सुझाएको डक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम प्रकाश खत्रीले बताए ।

यसकारण जरुरी छ आइल्याण्ड घटाउन

पृथ्वीचोकमा रहेको हालको आइल्याण्ड भद्दा, फराकिलो र अग्लो छ । ब्यस्त ठाउँमा यति ठूलो तथा फराकिलो आइल्याण्ड हुनु नै समस्या हो । यस्तो ब्यस्त ठाउँमा यति ठूलो र फराकिलो आइल्याण्ड हुँदा सहजताका लागि बनाई आइल्याण्ड समस्याको रुपमा हुनेहुँदा ट्राफिक जाम हुनेगर्छ ।

२ लेनको सडकमा पृथ्वीचोकमा रहेको हालको आइल्याण्ड हुँदा एक दिनमा ४० हजारदेखि ५० हजारको संख्यामा सवारी गुड्न उपयुक्त मानिन्छ । यसरी हेर्दा सो सडकमा सामान्य अवस्थामा प्रतिघण्टा ३ हजारदेखि ३ हजार ५ सयको बीचमा सवारी गुड्नुपर्ने हो । तर २०७३ कात्तिक २३ गते गरिएको सर्वेक्षणमा प्रतिघण्टा ८ हजार ५ सय ६१ वटा सवारी साधन गुड्ने देखिएको छ ।

यो क्षमता भन्दा झण्डै तीन गुणा बढी हो । त्यस दिन पूर्वाहृन ९ बजेदेखि ११ बजेसम्म २ घण्टा गरिएको सर्वेक्षणमा १७ हजार १ सय २२ वटा सवारी साधन गुडेको तथ्यांकले देखाएको ट्राफिक प्रमुख अधिकारीले जानकारी दिए । यस हिसाबले पनि यति धेरै ब्यस्त सडकमा यो आइल्याण्ड उपयुक्त छैन ।

आइल्याण्डले ट्राफिक ब्यवस्थापनमा सघाउनुपर्ने हो । यसले कुन सवारी कता जाने हो, त्यसतर्फ जानलाई सहज बनाउन मद्दत पुर्‍याउनुपर्ने हो ।

तर पृथ्वीचोकको आइल्याण्डले ट्राफिक ब्यवस्थापनमा सघाउनु त परै जाओस् बरु ट्राफिक ब्यवस्थापनमा झन् समस्या थपेको छ । यसकै कारण कहिलेकाहीँ दुर्घटना पनि हुनसक्ने खतरा बढाएको छ । आइल्याण्डमा पसिसकेपछि अगाडिको गाडी देखिनुपर्ने हो । अगाडिको गाडी रोकिएको छ कि आइल्याण्ड पार गरिसक्यो त्यो थाहा हुँदा पछाडिको गाडी अगाडि बढ्न सजिलो हुन्छ, तर आइल्याण्ड फराकिलो हुँदा पछाडिको गाडीले अगाडिको गाडि नदेख्दा समस्या सिर्जना हुने गरेको छ ।

त्यस्तै, आइल्याण्डमा पसिसकेको गाडीलाई प्राथमिकता दिएर अगाडि जान दिनुपर्ने हो, तर अहिले अगाडिको गाडीले आइल्याण्ड पार गरिसकेको हो कि हैन, त्यो पनि थाहा नहुँदा पछाडिको गाडी आइल्याण्डमा प्रवेश गरिहाल्ने गरेको र सोहि कारण दुर्घटना भएर ज्यानैसमेत जानसक्ने खतरा रहेको ट्राफिक प्रमुख अधिकारीले बताए ।
उनका अनुसार आइल्याण्ड ठूलो भएर अगाडिको गाडी आइल्याण्डबाट निस्केरननिस्केको नदेखिँदा पछाडिको कुन गाडिलाई प्राथमिकता दिने भन्ने समस्यासमेत हुनेगरेको छ । यसकै कारण ट्राफिक जाम बढिरहेको उनले बताए ।

आइल्याण्ड अग्लो हुँदा एउटै ट्राफिकले गर्ने काम ६ जना ट्राफिक प्रहरी राख्दा पनि ब्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको छ । सानो आइल्याण्ड हुने हो भने आइल्याण्डको बिचमा बसेर एउटै ट्राफिकले ट्राफिक ब्यवस्थापन गर्नसक्छ । त्यसमा थप ४ जना राखेर सबैलाई जेब्राक्रसिङ भन्दा अझ अगाडि राखेर बिचको ट्राफिकले समन्वय गर्ने हो भने हालको भन्दा कयौं गुणा राम्रो ट्राफिक ब्यवस्थापन हुन्छ ।

आइल्याण्ड अग्लो हुँदा पूर्व बसेको ट्राफिकले पश्चिम बसेको ट्राफिकलाई वा उत्तर बसेको ट्राफिकले दक्षिण बसेको ट्राफिकलाई देख्न सक्दैन । जसका कारण उनीहरुबीच समन्वय नहुँदा रोक्नुपर्ने बेलामा समेत गाडि पठाइदिने र त्यसका कारण ट्राफिक जाम हुनेगरेको र कहिलेकाहिं त दुर्घटनासमेत हुने गरेको अधिकारीको भनाइ छ । आइल्याण्डको चौडाइ र उचाइ घटाउने वित्तिकै यो समस्या हल हुने उनले बताए ।

आइल्याण्डको आकार ठूलो भएकैले आइल्याण्ड क्षेत्रमा गति कम गर्न लगाउने गरिएको छ । तर अहिले स्पिड कम गर्दा त्यसकै कारण ट्राफिक जाम हुने गरेकाले गति बढाउनुपर्ने अवस्था छ । अहिलेकै अवस्थामा गति बढाउँदा दुर्घटना बढ्ने भएकाले पनि आइल्याण्डको आकार घटाउनैपर्ने हुन्छ ।साभार अनलाईनखबर