नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको

0 28

काठमाडौं, १ भदौ । विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको छ । नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा फर्किएको हो ।

तर, अझै पनि प्राधिकरण खुद घाटाबाट बाहिर निस्किन सकेको छैन । ०५९देखि विद्युत प्राधिकरण निरन्तर घाटामा थियो ।

प्राधिकरणले गत आर्थिक वर्ष ०७३/७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२र७३मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गत वर्षको वाषिर्कोत्सवमा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए, त्यसपछि प्राधिकरणको व्यवस्थापकीय सुधारको प्रतिबद्धता सहित कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् ।

प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आव ०७२/७३मा ८ अर्ब ८९ करोट खूद घाटामा रहेको प्राधिकरणको नाफा आव ०७३/७४मा उलेख्खरुपमा घटेर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

विद्युत चुहावट नूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको घिसिङले बताए ।

अघिल्लो आवमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ३५ अर्ब सात करोड ३५ लाख आम्दानी गरेको प्राधिकरणले गत आबमा बढाएर ५० अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुर्‍याएको छ । प्राधिकरणको अघिल्लो वर्षको तुलनामा प्राधिकरणको समग्र आम्दानी करिव ४३।२१ प्रतिशतले बढेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६/२८ प्रतिशतले बृद्धि भएको हो ।

घिसिङले आगामी दिनमा सक्षम र सुदृढ प्राधिकरण निर्माणका लागि समग्र प्रयास केन्द्रित गर्ने बताएका छन् ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको काम गर्ने, सरकार तथा निजी क्षेत्र समेतले परस्पर सहयोग, समन्वय र लगानी गरी अनुकूल वातावरण सिर्जना गर्न सकेमा ऊर्जा क्षेत्रको समग्र विकास हुने बताए ।

‘परम्परागत ठेक्का व्यवस्थापन, सेवा प्रवाह व्यवस्थापन सुधार गरी परिणाममूखी र जवाफदेही कार्यसञ्चालन व्यवस्थापनको अभ्यास गर्न ढिलाइ भइसकेको छ’ उनले भने,’यसतर्फ प्राधिकरण क्रियाशील हुनुपर्छ ।’