हिन्दू राष्ट्र पुनस्र्थापना नभएसम्म जागरण अभियान रोकिंदैन : न्यौपाने

0 127

काठमाडौं । हिन्दू राष्ट्र पुनस्र्थापना मञ्चले आगामि मंसीरदेखि सशक्त हिन्दू जागरण अभियान शुरु गर्ने तयारी गरिरहेको छ । नेपलमा संवैधानिक रुपमै हिन्दू राष्ट्र पुनस्र्थापना गराउने मुख्य एजेण्डा सहित सशक्त रुपमा देशव्यापी दबाबमुलक आन्दोलनको तयारी भइरहेको नेपाल हिन्दू राष्ट्र पुनस्र्थापना मञ्चका अन्तर्राष्ट्रिय महासचिव तथा राजनैतिक संयोजक यज्ञप्रसाद न्यौपानेले जानकारी दिनुभयो । जिल्ला, क्षेत्र हुँदै देशव्यापी रुपमा अगाडि बढाइने जागरण अभियान शान्तिपूर्ण र दवावमुलक जनप्रदर्शन हुनेछ ।

एक अनौपचारिक भेटका क्रममा संयोजक न्यौपानेले हिन्दू जागरण अभियानको तयारीको क्रममा विभिन्न राजनैतिक दलका नेताहरु तथा हिन्दूवादी संघ–संस्थाका प्रतिनिधि हरुसँग आन्तरिक छलफल भइरहेको बताउनु भयो । उहाँका अनुसार नेपालका विभिन्न संघ–संस्था र राजनैतिक दलका अलावा भारतीय धार्मिक तथा राजनैतिक रुपमै बलियो समर्थनसमेत रहेकाले जागरण अभियान हिन्दू राष्ट्र पुनस्र्थापनाको माग पुरा नभएसम्म निरन्तर अगाडि बढाइने छ ।

परम्परागत रुपमा स्थापित हिन्दू अधिराज्यलाई जनमत नलिइकनै प्रतिनिधिको एक पक्षीय सहमतिमा हटाएर धर्म निरपेक्ष घोषण गर्दै स्थापित गर्न खोज्नु धोकापूर्ण र गैरराजनीतिक कार्य भएकोले हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि सवै हिन्दूवादी एक भएर लाग्नु पर्ने अवस्था आएको छ । संयोजक न्यौपानेले बहुसंख्यक हिन्दू रहेको नेपालको दक्षिण भारतमा सय करोड हिन्दू र उत्तरी क्षेत्र तिब्बतमा पनि ॐकार परिवार भित्रकै बौद्धमाग्रीहरुको बाहुल्य रहेकोले भुराजनीतिक अवस्थाले पनि नेपाल हिन्दू राष्ट्रकै रुपमा रहनु पर्ने उहाँको तर्क छ । अझ समग्र विश्वभरका ५० करोड भन्दा बढी हिन्दूहरुको आश्थाकै केन्द्र पशुपतिनाथ रहेको देश भएकाले नेपाल एकमात्र हिन्दू धर्मावलम्बीहरुको केन्द्रीय भुभाग हो र पहिचान क्षेत्र पनि भएकाले हिन्दू राष्ट्र पुनस्र्थापना अपरिहार्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापनाको आवाज बढ्दै गएकोले धेरै समय धर्म निरपेक्षता टिक्न नसक्ने उल्लेख गर्दै आगामि सन् २०१९ भित्रै नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापना भइसक्ने दावी गर्नुभयो । नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भइकन पनि विश्वमै अनुकरणीय रुपमा धार्मिक सहिष्णुता रहेको स्मरण गर्दै जवर्जस्ती धर्म निरपेक्ष लादेर धार्मिक युद्ध निम्त्याउन खोजिएको भनाई राख्नु भयो । नेपालमा बहुसंख्यक हिन्दूमात्र नभएर मुश्लिम, बौद्ध, जैन लगायत अन्य समुदाय तथा अन्य धर्म सम्प्रदायले समेत हिन्दू राष्ट्रको पक्षमा रहेकाले समग्र मुलुकको धार्मिक सहिष्णुता र विश्वमा हिन्दूत्वको पहिचान कायम राख्न नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापनाको कुनै विकल्प नरहेको विचार उहाँको थियो ।