तरकारी तथा फलफूलको बजार भाउ बड्ने क्रम जारी

0 31

काठमाडौं ३२ साउन । विगत तीन दिनयता कालीमाटी तरकारी तथा फलफूल बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य निरन्तर बढिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार साउन लागेयता तरकारीको मूल्य निरन्तर बढ्दै गइरहेको हो । यसरी तरकारीको मूल्य निरन्तर बढ्दै गएपछि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन् । वर्षात लागेसँगै बाहिरबाट आउने तरकारी महँगो आउने र मुलुकभित्रै उत्पादन भएको तरकारी पनि मागअनुसार नभए पछि तरकारीको मूल्य बढेको समितिले जनाएको छ ।

साउन महिना लागेयता निन्तर मूल्य बढिरहेका तरकारीहरू गोलभेडा, भिन्डी, भन्टा र बोडी रहेका छन् । त्यस्तै निरन्तर मूल्य बढिरहेका फलफूलहरूमा काँक्रो र आँप पनि रहेका कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गत आइतबार सानो गोलभेंडाको थोक मूल्य प्रतिकेजी ३० रुपैयाँ रहेकोमा सोमबार बढेर ३३ रुपैयाँ प्रतिकेजी पुगेको थियो । त्यस्तै सो गोलभेडाको मूल्य मंगलबार बढेर ३८ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको समितिले जनाएको छ ।

त्यसैगरी लाम्चो भन्टाको थोक मूल्य गत आइतबार २७ रुपैयाँ प्रतिकेजी रहेकोमा सोमबार प्रतिकेजी २८ रुपैयाँ र मंगलबार प्रतिकेजी ३३ रुपैयाँका दरले कारोबार भएको छ । त्यसैगरी बोडीको मूल्य पनि निरन्तर उकालो लागिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अनुसार गत आइतबार ५८ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको बोडी सोमबार ६३ रुपैयाँ र मंगलबार ६८ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको छ । त्यस्तै आइतबार ५२ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको घिउसिमी त्यसयता सोमबार र मंगलबार क्रमशः ५३ र ५८ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको छ । त्यस्तै आइतबार र सोमबार ६२ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको भिन्डी मंगलबार भने प्रतिकेजी ६८ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी हरियो धनियाँको मूल्यमा पनि भारी मात्रामा वृद्धि भएको जनाएको छ । गत आइतबार १ सय २५ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको हरियो धनियाँ मंगलबारका सदन भारी मात्रामा वृद्धि हुँदै २ सय ५ रुपैयाँ प्रतिकेजीमा दरले कारोबार भएको कालीमाटी फलपूmल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै मूल्यवृद्धि भइरहेका फलफूलहरूमा आँप र काँक्रो रहेका छन् । गत आइतबार १ सय ५ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको आँप मंगलबार बढेर १ सय १५ रुपैयाँ र ४८ रुपैयाँका दरले कारोबार भएको काँक्रो ५२ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

उता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताले तरकारीको उपभोग गर्दा ध्यान दिएर उपभोग गर्न सुझाव दिएको छ । विभागले गत मंसिरयता गरेको अनुगमनमा काठमाडौं भित्रिने तरकारीमा अत्यधिक विषादी मिसाइएको भेटिएकाले उपभोक्ताले तरकारी तथा फलफूलको उपभोग गर्दा सचेत भएर उपभोग गर्न सुझाव दिएको हो ।

विभागले मंसिर महिनायता जेठसम्म काठमाडौं उपत्यकामा भित्रिने चारवटै नाकामा गरेको अनुगमनमा फलफूल तथा तरकारीमा अत्यधिक विषादी मिसाइएको भेटाएको थियो । तरकारी तथा फलफुलमा विषादीको परिमाण ३५ प्रतिशतसम्म खान मिल्ने तर त्योभन्दा बढी विषादीको परिमाण भेटिए खान अयोग्य ठहरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सहप्रवक्ता मदन चापागाईंले बताए ।

विषादीको परिमाण ३५ प्रतिशतदेखि ४५ सम्मको तरकारी पनि एकदुई दिन राखेर खान मिल्ने तर त्योभन्दा बढी भने खान नमिल्ने उनको भनाइ छ । ‘सकेसम्म विषादी नभएकै राम्रो तैपनि ३५ देखि ४५ सम्मको एकदुई दिन राखेर खानयोग्य हुन्छ । एकदुई दिन राख्दा त्यसमा भएको विषादीको मात्रा कम हुँदै जाने भएकाले त्यो खान मिल्छ,’ सहप्रवक्ता चापागाईंले भने । ‘त्योभन्दा बढी अलि अयोग्य नै हुन्छ, ।’ तर ककाठमाडौं उपत्यकाका थानकोट, जगाती, बालाजु र कुन्ताबेंसीलगायतका नाका भएर आउने तरकारीमा भने विषादीको मात्रा उच्च रहेको विभागको तथ्यांकले देखाएको छ ।