आप्रवासी कामदारमाथि धरपकड अभियान

0 40

काठमाडौं । मलेसियाले अवैध रूपमा बस्ने आप्रवासी कामदारमाथि धरपकड अभियान पुनः सुरु गरेको छ । नेपाली कामदारका लागि दोस्रो आकर्षक श्रम गन्तव्य मुलुक मलेसियाले यसअघि धेरैपटक वैधानिक हुने मौका दिँदादिँदै पनि अटेर गरी बस्ने आप्रवासी कामदारमाथि धरपकड अभियान थालेको हो । जसअन्तर्गत त्यस्ता कामदारलाई देशबाहिर लखेट्ने कार्य सुरु भइसकेको छ ।

मलेसिया सरकारले विविध कारणले अवैध बस्न बाध्यहरूलाई पनि कानुनी दर्ताको प्रक्रियामा ल्याउनका लागि आफ्नो देशका रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिए पनि अझै अटेर गरी अवैधानिक रूपमा बसिरहेका आप्रवासीमाथिको धरपकड अभियान पुनः थालेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूले बताएका छन् । उनीहरूका अनुसार मलेसिया सरकारले थालनी गरेको यस्तो अभियानका कारण अब मलेसियामा अवैध रूपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित हुने बताएका छन् । विभिन्न कारण वर्किङ भिसाको अवधि सकिए पनि अझै केही नेपाली कामदार स्वदेश नफर्किएर मलेसियामै कार्यरत रहेको सम्बन्धित सरोकारवालाहरू र मलेसिया सरकारको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पनि अहिले मलेसिया सरकारले अवैध रूपमा बस्ने आप्रवासी कामदारमाथिको धरपकड अभियान पुनः सुरु गरेको सुनिएको बताए । हाल मलेसियामा वैधानिक रूपमा कार्यरत नेपाली कामदारको संख्या करिब साढे ४ लाख रहे पनि अवैधानिक रूपमा लुकेर बस्नेहरूको संख्या त्यति धेरै नहुनुपर्ने बताए ।

यसअघि धेरैपटक नेपालीलगायत विभिन्न मुलुकका कामदारमाथि गरिएको धरपकडले धेरैलाई सचेत गराई वैधानिक हुने अवसर पाउँदापाउँदै पनि अझै मलेसिया सरकारको कानुन नमानेर अटेर गर्नेहरूमाथि पुनः धरपकड थाल्ने कार्य सकारात्मक नै भएको बताए । उनले मलेसिया सरकारले यसअघि धेरैपटक लचकता अपनाएर पुनः थालेको यस्तो अभियानले जबर्जस्ती गर्न खोज्ने आपराधिक मानसिकताका व्यक्तिहरूमाथि यस्तै कारबाही हुनुपर्ने बताए ।

उनले यसले अब मलेसियामा वैधानिक रूपमा कार्यरत नेपाली कामदार थप सुरक्षित हुने अपेक्षा गरिएको बताए । तर त्यहाँका केही रोजगारदाता कम्पनीहरूले यहाँबाट गएका नेपालीलगायत विभिन्न मुलुकका कामदारले वैधानिक हुने प्रक्रियाको प्रयास गर्दागर्दै पनि कामदारको राहदानी खोसेर भिसा अवधि थप नगरिदिएर त्यसै समय गुजारेर जेल हाल्न खोज्ने त्यहाँका ठग कम्पनीको गैरजिम्मेवारीपूर्ण कार्यमा भने नेपाल सरकारको ध्यान जानु आवश्यक भएको उनको भनाइ छ । अध्यक्ष गुरुङले त्यहाँका रोजगारदाता कम्पनीबाट अनावश्यक रूपमा दुःख पाएका नेपाली कामदारलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वा त्यहाँ वैधानिक बनाउनका लागि मलेसियास्थित नेपाली राजदूतावास मात्र तत्काल पीडितको घाउमा मलम लगाउने प्रयास गर्नुपर्ने बताए ।

सम्बन्धित सरोकारवालाहरूका अनुसार अहिले मलेसियन प्रहरी र वैदेशिक रोजगार विभागअन्तर्गतको काउन्टर टेरोरिज्म डिभिजनको स्पेसल ब्रान्चका भुकिट अमानले नेतृत्व गरिरहेको टोलीले मलेसियाको जलान मस्जिद र इन्डिया बजार क्षेत्रमा धरपकड अभियान चलाइरहेको छ । यस अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजातबिना मलेसिया बसिरहेका आप्रवासी कामदारहरू पक्राउ गर्ने रहेको छ ।

मलेसियन सरकारको यस अभियानले इराक, सिरियाजस्ता देशका आतंकवादीहरूसँग सम्बन्ध रहनेहरूलाई पनि धरपकड गर्ने र कब्जामा लिने भएको छ । पहिलोपटक चलाइएको यस अभियानमा त्यहाँको वैदेशिक रोजगार विभागको स्पेसल एक्सन युनिट र जेनरल अपरेसन्स फोर्सको टाइगर प्लाटुन संलग्न रहेका छन् । मलेसियाको यस्तो अभियानले नेपालीलगायत अन्य मुलुकका कामदार प्रभावित हुनेछन् ।