सप्तकोसी बाँध कसका कारण बाँधियो ? यस्तो छ इतिहास

0 53

काठमाडौं ३२ साउन । सप्तकोसी बाँध ०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध हो । ०२२ वैशाख १२ गते यो उद्घाटन भएको थियो ।

कोसी ब्यारेज १९९ वर्ष भारतले सञ्चालन गर्ने गरी भएको सम्झौताअनुसार बनेको बाँध बल्ल ५२ वर्षको भएको छ । तर, अझै १४७ वर्ष भारतले नै सञ्चालन गर्नेछ ।

 

कानुनी वैधता लामो भए पनि बाँधको इन्जिनियरिङ क्षमता सकिएको छ । ५० वर्ष नाघेकाले बाँध कुनै पनि वेला भत्किन सक्ने चेतना नेपाल र भारत दुवै पक्षलाई छ । तर, यो विषयमा सार्थक सहमति भएको छैन ।

कोसी सम्झौताअनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन र रेखदेख भइरहेको छ । कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय कर्मचारीको छ । कोसीमा यति क्युसेक पानी बग्यो भनेर आउने जानकारी पनि भारतीयहरूले दिएपछि नेपाली अधिकारीमार्फत मिडियामा आउँछ ।

गन्डक सम्झौताः ५८ वर्षअघि बाँध बनेदेखि विवाद

१९ मंसिर ०१६ मा नेपाल र भारतबीच गन्डक सम्झौता भएको हो । बाढी नियन्त्रण, सिँचाइ र विद्युत् उत्पादन गर्ने एकीकृत उद्देश्यले भएको सम्झौतामा नेपालको तर्फबाट उपप्रधानमन्त्री सुवर्णशमशेर र भारतीय राजदूत भगवान सहायले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार नेपालले ४० हजार हेक्टर जमिनका लागि सिँचाइ सुविधा पाउनुपर्नेमा २५ हजार हेक्टरमा मात्रै पाएको छ । आवश्यक परेका वेला सिँचाइ नपाउने र अनावश्यक समयमा बाढी आउने समस्याले नवलपरासीका १३ गाविसका बासिन्दा पीडित छन् । जनस्तरमा यो विषय पटक–पटक उठे पनि कूटनीतिकस्तरमा प्रभावकारी बहस हुन सकेको छैन ।

टनकपुर बाँधः ९७ वर्षअघिको अंग्रेजी घाउ

भारतमा अंग्रेजकै शासन भएका वेला सन् १९२० मा महाकाली नदीमा बाँध बनाउने गरी शारदा सन्धि भएको हो । त्यतिवेला नेपाललाई चार सय ६० क्युसेक पानी दिने भनिए पनि नेपालले कहिल्यै पाएन ।

देशमा प्रजातन्त्र पुनर्बहाल भएपछि ०४८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए भने ०५२ मा शेरबहादुर देउवाले टनकपुरलाई समेटेर महाकाली सन्धि गरेका थिए । तर, त्यसअघि नै भारतले एकतर्फी रूपमा बनाएको जलाशयले पाँच सय ७७ मिटर नेपाली जमिन मिचेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।