विदेशी कै प्रभावका कारण गणतन्त्र आएको हो – किशोर गुरुङ

किशोर गुरुङ, – केन्द्रीय सदस्य, एकीकृत राप्रपा (राष्ट्रवादी)

0 47

 

 

किशोर गुरुङ नेपालको राष्ट्रवादी फाँटमा चिनाईरहनु पर्ने नाम होइन । उहाँ यतिबेला एकीकृत राप्रपा (राष्ट्रवादी) को केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा शक्तिको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँ राप्रपा नेपालमा राष्ट्रिय युवा मोर्चाको केन्द्रीय अध्यक्ष हुनुभएको थियो । यस्तै राप्रपा नेपाल समानान्तरमा सहायक महामन्त्री तथा युवा संयोजक समेत हुनुहुन्थ्यो । उहाँ केशरबहादुर विष्टले नेतृत्व गरेको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानको केन्द्रीय सदस्य तथा युवा फाँटको संयोजक पनि हुनुभयो । स्पष्ट विचार र स्वस्छछवि भएका गुरुङसँग नेपालको समसामयिक राजनीतिक अवस्थाबारे गरिएको कुराकानी ः

अहिलेको राजनीतिक अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?
— अहिलेको राजनीतिक अवस्था देश र समय सुहाउँदो छैन । देश विकराल बन्दै गइरहेको छ । देशको अवस्था सीमाभन्दा बाहिर छ । कुनैपनि बेला देशमा ठूलो दुर्घटना सम्भावना मैले देखेको छु । किनकी देशका ठूला दलका नेताहरु बाह्य शक्तिबाट संचालित छन् । देश र जनताप्रति उहाँहरुले कुनै दायित्व महसुस गर्नुभएको छैन । नेताहरु सत्ता र भत्तामै व्यस्त छन् । यो अवस्था आउनुमा बाह्य शक्तिकै ठूलो हात छ । देश र जनता सुहाउँदो राजनीति भएको छैन । प्रमुख दलहरु देशलाई आफ्नै विर्ताजस्तो मात्र गरिरहेका छन् । सत्तामा कसरी पुग्ने भनेर मात्र खेल खेलिरहेका छन् । जनताले चाहेको शान्ति र मेलमिलाप देखिंदैन । देशमा भुकम्प आएको तीन वर्ष भइसक्यो, जनताले कुनै राहत पाएका छैनन् । विदेशबाट आएका ठूला राहतहरु यिनै ठुला दलका नेता र कार्यकर्ताको घरघरमा पुगिरहेको छ । छिमेकी राष्ट्रले हामीप्रति असुहाउँदो व्यवहार गरिरहेको छ । त्यसको विरुद्धमा नेताहरु एकशब्द पनि बोल्न चाहिरहेका छैनन् । किनकी सत्ता र भत्ता उनैको प्रभावमा आर्जन गरिरहेका छन् ।

देशमा भइरहेको स्थानीय तहको निर्वाचनलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
— स्थानीय तहको निर्वाचन पनि बाह्य शक्तिकै प्रभावमा भइको बुझिन्छ । किनकी यो संविधान विदेशी प्रभावबाटै आएको हो । यही संविधान कै अधिनमा रहेर निर्वाचनहरु भइरहेका छन् । किनकी यो संविधान बाहिरकै स्वार्थमा गरइएको ग्रयाण्डडिजइन हो । यदि यो स्थानीय चुनाव प्रदेशको चुनाव र केन्द्रीय चुनाव नसकेको खण्डमा यो संविधान नै धरापमा पर्ने भएकाले विदेशीको स्वार्थमा निर्वाचनहरु भइरहेका छन् ।

आशातित रुपमा एकीकृत राप्रपा (राष्ट्रवादी)ले स्थानीय तहको निर्वाचनमा मत ल्याउन सकेन नि ?
— एकीकृत राप्रपा राष्ट्रवादी यो हाम्रो भर्खर जन्मेको पार्टी हो । त्यसैले गर्दा हाम्रो चुनावी परिणाम भन्दा पनि हाम्रो पहिचान, विचार र सिद्धान्तबाट जनताको माजमा पु¥याउन खोजिएको हो । आगामि दिनमा हाम्रो विचार र सिद्धान्तलाई जनताको माझमा लगेर आगामि चुनावमा हामीले हाम्रो एजेण्डालाई स्थापित गर्नेछौं, हामी जित्दै जानेछौं । हाम्रो पार्टीको मुल एजेण्डा हिन्दु राज्य र राजसंस्था हो । यो एजेण्डालाई हामीले छाडेका छैनौं । हामी आगामि निर्वाचनमा पनि जनतामाझ जानेछौं ।

तपाईं राष्ट्रिय युवा शक्तिको अध्यक्ष हुनुहुन्छ, युवाहरुलाई संगठित गर्न के–के योजना छन् तपाईंसँग ?
— धर्म संस्कृति हाम्रो र हाम्रो पहिचानको विषयमा विभिन्न प्रशिक्षण दिएर सवै युवाहरुलाई राष्ट्रवादी धारमा ल्याउने कोशिस गरिरहेका छौं । वास्तवमा देशका युवाहरुलाई आफ्नो देश, धर्म, संस्कृति के हो भन्ने थाहै छैन । र युरोपियनहरुले युवाहरुलाई जानीजानी रनभुलमा पारिरहेका छन् । धर्म प्रचार गर्न लगानी गरिरहेका छन् । त्यसैले अब यसप्रति तमाम नेपाली राष्ट्रवादी युवाहरु संगठित हुने बेला आएको छ । युवाहरु बाध्यताले विदेशमा कामगर्न जानु परिरहेको छ । किनकी हाम्रो अज्ञानताका कारण यो अवस्था आएको हो । साथै हामीले अब युवाहरुलाई हिन्दू राज्य र राजसंस्थाका बारेमा बुझाउन ढिलागर्नु हुँदैन ।

वर्तमान सरकारलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
—यो सरकार अहिलेसम्म कै नालायक छ । किनकी प्रधानमन्त्रीदेखि मन्त्रीसम्म विदेशी प्रभावमा चलिरहेको देखिन्छ । चुनावमा ठुला दलका गठबन्धनले कस्तो नालायकी देखाए त्यो हामीले देखेकै हो । माओवादीले कांग्रेसलाई भोट हाल्ने, कांग्रेसले माओवादीलाई भोट हाल्ने गरे । त्यो सत्ता टिकाउन कै लागि हो । होइन भने खोइ सिद्धान्त र विचार ? कुनैबेला शेरबहादुर देउवाले माओवादीको टाउकाको मुल्य तोकाकै थिए । माओवादीले पनि कांग्रेसका धेरै कार्यकर्तालाई विस्थापित गरेकै थिए । अब यो कस्तो विडम्वना ? अहिले आएर एकैठाउँमा घाँटी जोडेर बसिरहेका छन् । यो पनि बाह्य शक्तिकै खेलको परिणाम हो । र कालेकाले मिलेर खाउँभाले भन्ने उखानलाई चरितार्थ गरेका छन् ।

राप्रपाहरु फुटीरहेका छन्, यहाँले यसलाई कसरी मुल्यांकन गर्नुभएको छ ?
— राप्रपाहरु फुट्नुमा यो ठुला नेताहरुको जुँगाको लडाईं अनि घमण्डको परिणाम हो । त्यसै कारणले राप्रपाहरु फुटिरहेका छन् । यो टुटफुटमा पनि विदेशीकै हात छन् । किनकी विदेशीलाई हामी राष्ट्रवादीहरु एकै भएको मन परेको छैन । यसैको परिणाम पनि राप्रपाहरु फुटीरहेका छन् । हिन्दू राज्य र राजसंस्थाको पक्षमा एकमत रहेका राप्रपाका नेता तथा कार्यकर्ता मिल्नुपर्ने मैले महसुस गरिरहेको छु ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रवादी)लाई जिताउन के–के गर्दै हुनुहुन्छ ?
— स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीले जित्नु भन्दा पनि हाम्रो सिद्धान्त र एजेण्डालाई गाउँशहर, टोलटोल र व्यक्तिव्यक्तिमा पु¥याउने हाम्रो अठोट छ । र एकदिन यसको राम्रो परिणाम देखिने छ । हम्रो पक्षमा जनमत बढ्दै गएर एकदिन हाम्रो पार्टी केन्द्रीयस्तरमा पनि प्रभावशाली रुपमा स्थापित हुने छ ।

फुटेका राप्रपाहरु अब मिल्ने सम्भावना छैन ?
— अब जुन राप्रपाहरु फुटीरहेका छन् यि राप्रपाहरु यथास्थिति मै एकीकृत हुने सम्भावना म देख्दिन । किनिकी यसको कारक तत्व भनेको कमल थापा नै हुन् । उनको तानाशाही एकल निर्णय, घमण्ड र मान्छेलाई मान्छे नगन्ने चरित्रले गर्दा राप्रपा फुटिरहेका छन् । त्यसैले अब कमल थापासँग राप्रपा एकीकरण हुने कुनै सम्भावना म देख्दिन ।