पहिलोपटक नेपाली मोडल भारतीय टेलिभिजन च्यानल एमटिभी मा

0 255

काठमाडौंर भारतीय टेलिभिजन च्यानल ‘एमटिभी’बाट प्रसारण हुँदै आएको मनोरञ्जन प्रधान शाहसिक प्रतियोगिता (रियालिटी सो) ‘स्प्लिट्सभिल्ला–१०’ मा पहिलोपटक नेपाली मोडलले स्थान पाएकी छन् । बलिउडका कलाकार, गायक, गायिका, मोडलहरू सहभागी हुने यो रियालिटी सोमा नेपाली मोडल ईशा खड्का चौधरी चयन भएकी हुन् ।

स्प्लिट्सभिल्लाको यो १०औं शृंखलासम्ममा नेपालबाट पहिलोपटक ईशा नै चयन भएकी हुन् । देश विदेशबाट भएको अडिसनमा उत्कृष्ट १५ मा परेकी उनी तीन सातादेखि सो प्रतियोगितामा छिन् । अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको स्प्लिट्सभिल्ला एमटिभीकै लोकप्रिय रियालिटी सो हो । एमटिभीको रोडिज र स्प्लिट्सभिल्ला सर्वाधिक लोकप्रिय रियालिटी सोमा पर्छन् ।

दुई साता अघिबाट हरेक आइतबार बेलुका नेपाली समय ७ः१५ बजे एमटिभीमा प्रसारण हुने १०औं स्प्लिट्सभिल्लामा भारतका चर्चित मोडल, गायक, खेलाडी तथा सेलिब्रेटीहरू छन् । उनीहरूसँग समूहमा प्रतिस्पर्धा गर्दै इसाले उत्कृष्ट १२ को स्थान बनाइसकेकी छन् । जसमा आफू पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढिरहेको मोडल इसाले जानकारी गराइन् ।

उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी थिइन् । एमटिभीबाट करिअर सुरु गरेकी उनी चाँडै नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा आउने तयारीमा छिन् । ललितपुरको भैंसेपाटी निवासी ईशा नेपाली मोडल हुन् ।

उनी विगत पाँच वर्ष यताबाट मोडलिङ क्षेत्रमा छिन् । नेपालका विभिन्न फेसन सोमा भाग लिइसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पूरा गरेकी हुन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी ईशा मिडिया, मोडलिङ र फिल्ममा आफ्नो करिअर अघि बढाउने तयारीमा छिन् ।