प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् गठन गर्न कठीन, साताभित्रै जम्बो मन्त्रीमण्डल बनाउने तयारी

0 7

काठमाडौं  २६ जेठ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टिभित्रका विभिन्न गुटलाई सन्तुष्ट पार्दै मन्त्रिपरिषद् विस्तार गर्न मुस्किल परेको छ । पौडेल समूहका नेतालाई सन्तुष्ट पार्न नसकेको कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न मुस्किल परेको हो।

बिहिवार देउवाको सपथ ग्रहण कार्यक्रममा सहभागि नहुने भन्दै निर्णय गरेको नेता रामचन्द्र समूहलाई देउवाले फोन गरेपछि सपथ कार्यक्रममा सहभागि भएका थिए । देउवाको प्रयास सत्तागठबन्धनमा रहेका दलहरु बीच मन्त्रालयको टुङगो लाग्न नसक्दा जटिल बनेको नेताहरुको भनाई छ ।

तर पार्टिभित्रका विभिन्न गुटको भागबन्डा केहि दिनमै सल्टाउने र दोस्रो चरणको निर्वाचन भन्दा पहिले नै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पौडेलले भने ‘भोलि पर्सीमा दुईजनाको नाम ल्याउन भनिएको छ । अब विभागको टुङ्गो लगाए पछि सबै टुङ्गो लाग्छ ।’

Sher-Bahadur-Deuba-Elected-to-PM

त्यस्तै सत्ता साझेदार माओवादी केन्द्रलाई पनि मन्त्रीको टुङ्गो लगाउन यस्तै सकस परेको छ । प्रधानमन्त्री निर्वाचनका बेला प्रधानमन्त्री देउवाका पक्षमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना दलहरुलाई पनि सरकारमा सहभागी बनाउने प्रयास भइरहेको छ ।

आफूले खोजेको मन्त्रालय माग्ने प्रवृत्तिले पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सबै पार्टीलाई समावेश गर्ने योजना भएकोले अब विस्तार हुने मन्त्रिमण्डल ठूलै आकारको हुने सत्तापक्षका एक नेताले जानकारी दिए ।

देउवा निकट कांग्रेस नेता मीनबहादुर विश्वकर्माले भने ‘कांग्रेसको भागमा १० देखि ११ मन्त्रालय रहन्छ र माओवादी केन्द्रको भागमा ८ देखि ९ वटा हुन्छ । अन्य दललाई पनि सम्मानित ढङ्गबाट सिट उपलब्ध गराउने भएकाले सानो मन्त्रिमण्डल बनाउन नसकिने अवस्था छ ।

अहिलेको मन्त्रिपरिषद्मा संविधानमा उल्लेख भए अनुसार महिला र दलित समुदायको प्रतिनिधित्व नभएको आलोचना भइरहेका बेला अब हुने विस्तारलाई समावेशी बनाइने कांग्रेस नेताहरुको भनाई छ ।

You might also like More from author