स्थानीय तह निर्वाचनमा कतिपय स्थानबाट निकै रोचक परिणा

May 21 2017 04:33

काठमाडौं ७ जेठ। स्थानीय तह निर्वाचनमा कतिपय स्थानबाट निकै रोचक परिणामहरु आएका छन् । नयाँ पत्रिका दैनिकले निर्वाचनका अनेक रङ शीर्षक दिएर खबर लेखेको छ ।

प्रधानमन्त्रीको वडामा एमाले
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मत खसालेको चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार हरिप्रसाद आचार्य निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार उपेन्द्र शर्मालाई सात मतले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । उनले एक हजार सात सय २० मत पाए भने शर्माले एक हजार सात सय १३ मत पाए । प्रधानमन्त्रीको दलले ९३५ मत पायो ।

download (1)

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस

एमाले अध्यक्ष केपी ओलीले मत खसालेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार कमलनाथ आचार्य विजयी भए । १७ मतअन्तरमा उनले एमाले उम्मेदवारलाई पराजित गरे । आचार्यले १,३८५ र उनका प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १,३६८ मत पाए ।

राप्रपा अध्यक्ष कमल थापाको वडामा कांग्रेस

राप्रपा अध्यक्ष कमल थापाको मतदाता नामावली भएको मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवारले चुनाव जितेका छन् । कांग्रेस उम्मेदवार राजेश बानियाँ १,८४८ मत ल्याएर वडाध्यक्षमा विजयी बने । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार ईश्वर ढुंगानाले १,७४४ मत पाए । थापाकै दल राप्रपाले जम्मा ३४० मत ल्यायो ।

डा। रामशरण महतको वडामा एमाले
कांग्रेस पूर्वसहमहामन्त्री डा। रामशरण महतको मतदाता नामावली रहेको नुवाकोट पञ्चकन्या गाउँपालिका–२ मा एमाले विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार ध्रुव मिश्र सात सय ३९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रामशरण श्रेष्ठले ६ सय ४३ मत ल्याए ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top