चुनाव भतड्ने सपना नदेखे हुन्छ गृहसचिवको चेतावनी

May 13 2017 12:10

काठमाडौं, ३० बैशाख । भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृहसचिव लोकदर्शन रेग्मीले बताएका छन् । साथै निर्वाचन विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने उनले चेतावनी दिए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृह सचिव रेग्मीले निर्वाचनका लागि देशभर सुरक्षाको बलियो सञ्जाल बनाइएको बताए ।

उनले भने, ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाइनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ ।’

Lokdarasan-Ragmi

मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको र क्लष्टरका अनुसार प्रहरी र सशस्त्रको मोबाइल टिम, स्ट्राइक टिम खटाइएको उनले बताए । नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने र अतिसंवेदनशील स्थानमा हवाइजहाजमार्फत सेनालाई खटाइने सचिव रेग्मीले जनाए ।

गृहसचिव रेग्मीले मत हाल्न आउँदादेखि मत हालेर घर फर्किदासम्म मतदातालाई सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए । उनले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ ।’

उनले विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए । गृह सचिव रेग्मीले भने, ‘उनीहरुलाई हामी हदैसम्म कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ ।’

उनका अनुसार हालसम्म १७० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top