१७ सयमाथि कारबाही, ८ लाख जरिवाना नो हर्न’ उलङ्घन गर्ने लाई

0 20

Trafic

काठमाडौं, १० वैशाख । नयाँवर्षको शुरुआतसँगै काठमाडौं उपत्यकामा लागू गरिएको ‘हर्न निषेध’ नियम उलङ्घन गर्ने मध्ये बिहीबारसम्म १७ सय १७ जना कारवाहीमा परिसकेका छन् । नियम उलंघन गर्ने मध्ये अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बताए ।

काठमाडौं शहरलाई शान्त र सभ्य बनाउन लागू गरिएको ‘नो हर्न’ नियमको करिब ९५ प्रतिशत चालकले पालना गर्न थालिसकेको महानिरीक्षक लामा बताउँछन् । लामाका अनुसार, कतिपय चालक कस्तो बेलामा हर्न बजाउने भन्ने चालै नपाएर पनि कारवाहीमा पर्ने गरेका छन् ।
‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा पर्न सक्ने आकस्मिक अवस्थामा मात्र हर्न बजाउन पाइन्छ,’ उनले भने ।

मानिसको कानका लागि ६० डेसिबलसम्मको ध्वनिलाई उपयुक्त मानिन्छ । तर, काठमाडांै उपत्यकाको ध्वनि प्रदूषण ९५ डेसिबल छ । कुनै बेला यो ११० डेसिबलसम्म पुग्ने गरेको तथ्यांक ट्राफिक प्रहरीसँग छ । ‘११० डेसिवल ध्वनि मानिसको कानका लागि खतरापूर्ण हो,’लामाले भने ।
‘हर्न बजाउन नदिनु राम्रो कुरा हो तर हर्न नबजाउँदा जनताले बाटो छोड्नु पर्यो नि,’ बागबजार रुटमा ट्याक्सी चलाउने चालक भरतप्रसाद नेपालले भने, ‘हाइवेको लागि हर्न निषेध गर्नु राम्रो हो, तर राजधानी जस्तो व्यस्त सडकमा यो नियम उपयुक्त देखिँदैन ।

मान्छे सडकमा उभिएर मोबाइलमा आनन्दले कुरा गरिरहेको हुन्छ त्यस्तो बेलामा के गर्ने हर्न बजाउने कि नबजाउनेरु’
वातावरण मन्त्रालयले गर्न नसेकेको काम आफूहरुले गरेर देखाइदिएको काठमाडांै महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरराज पौडेलको दाबी छ । ‘नो हर्न’ले गर्दा अहिलेको हेभी ट्राफिक ९५ प्रतिशतमा कम हुँदै गएको उनले बताए । ‘नो हर्न’ अभियान अत्यन्त सफल भएको उनको भनाइ छ ।
‘यस्तो अभियानले जनता पनि बिस्तारै सचेत हुँदैछन्,’ उनले भने, ‘पहिले चालकहरु हर्नको भरमा सवारी चलाउने गर्थे, तर नो हर्न लागू भएपछि हर्न नबजाई सर्तक भएर हर्न बजाउन थालेका छन् ।’
उपत्यकाको सडकमा हर्न निषेधित गर्न सडकको लेन तथा जेब्राक्रस चिह्न स्पष्ट देखिनुपर्ने ट्राफिक प्रहरी गोपालप्रसाद पोखरेल बताउँछन् । ‘नियम राम्रो हो,’ उनले भने, ‘तर जनताले त्यसलाई कसरी लागू गर्छन भन्ने कुरा हो ।’ नियम लागू भएको हप्तादिन मात्र भएकोले अहिले नै यसको प्रभाव कस्तो हुँदै छ भनेर भन्न नसकिने उनले बताए ।

‘नो हर्न’ हटाएर ध्वनि प्रधुषण कम हुन्छ भन्नेमा आफू सहमत नरहेको नेपाल मिटर ट्याक्सी व्यवसाय संघका अध्यक्ष अर्जुन गौतमको भनाइ छ । ‘नो हर्नले मात्र ध्वनि प्रदुषणमा कमी हुँदैन,’ उनले भने, ‘अहिले बाइकमा भएका ठूला साइलेन्सर, ठूला आवाज निकाल्ने सवारी र ठूला आवाज निकाल्ने कलकारखानालाई पनि आवाज नियन्त्रण गर्न लागाउनु पर्छ ।’

नो हर्न गर्नुभन्दा पहिला जनतालाई यसबारे सुचित नगरिएकोले पनि खासै फलदायी हुन नसकेको उनी बताउँछन् । ‘अहिले यात्रुहरु झन् मनोमानी तरिकाले हिँड्न थालेका छन्,’ उनले भने, ‘पहिला हर्न बजाउँदा बाटो छोड्ने जनता अहिले बाटोमा गुडेका सवारीको केही ध्यान दिँदैनन् । अब यसलाई कसरी बुझ्ने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको विवरणअनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा हर्न बजाएबापत कारवाहीमा परेकाहरुसँगबाट कुल ८ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यातायात व्यवस्था विभागको पहलमा काठमाण्डौ महानगरपालिका, ट्राफिक प्रहरी गत चैतमा बसेको बैठकले राजधानीको ध्वनि प्रदुषण कम गर्न हर्न निषेध गर्ने निर्णय गरेको थियो ।
काठमाडौं उपत्यकामा अहिले साढे ११ लाख सवारी साधन गुड्छन् । जसमा मोटरसाइकल र स्कुटर ९ लाख हाराहारी छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ९ग० अनुसार कसैले इमर्जेन्सीबाहेक सवारी साधनको हर्न बजाएमा पहिलो चरणमा ५ सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय रूपैयाँ जरिवाना हुने प्रावधान छ । एम्बुलेन्स, शववाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुँदैन ।