धनुषामा सहकारीका नाममा ठगी धन्दा मौलाउँदै

0 3

sahakari

महेन्द्रनगर, २८ चैत धनुषा। धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको सङ्ख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन् ।

सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट बचतका लागि दैनिकरूपमा उठाइँदै आएको करिब रु सात करोड उठाएर सहकारी बन्द गरी सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा परेका हुन् । धनुषा र महोत्तरीका विभिन्न पाँच स्थानमा फरक-फरक नामले सञ्चालनमा रहेको सहकारी सञ्चालकबीचको विवादले बन्द भएको बुझिएको छ । यसरी संस्था बिना कुनै सूचना एक्कासि बन्द भएपछि बचत गरेको करोडौँ रुपैयाँ डुब्ने त्रासले सर्वसाधारण चिन्तामा परेका छन् ।
संस्थाले धनुषाको जनकपुरमा सहारा पञ्चकन्या बचत, क्षिरेश्वरनाथ नगरपालिकामा पञ्चकन्या बचत, यदुकोहा नगरपालिकामा सहारा बचत, महोत्तरीको बर्दिवास नगरपालिकामा पञ्चकन्या बचत र महोत्तरीकै गोनरपुरामा पञ्चकन्या बचत नाम गरी पाँच स्थानमा बचतको नाममा सर्वसाधारणसँग पैसा उठाउँदै आएको थियो । गत चैत ५ गते धनुषाको यदुकोहास्थित सहारा बचतले एक्कासि कार्यालय बन्द गरी सबै कर्मचारी गायब भएपछि सर्वसाधारणको पैसा डुबाउन खोजेको खुलासा भएको थियो ।

चैत ६ गते यदुकोहाका स्थानीयवासीले संस्थामा बचत गरेको पैसा फिर्ता पाऊँ भनी इलाका प्रहरी कार्यालयमा सहकारी सञ्चालक पुनम साहविरुद्ध निवेदन दिएपछि उनी पक्राउ परेकी छन् । सर्वसाधारणबाट रकम असुल्ने सहकारी सञ्चालकमाथि कारबाहीका साथै बचत फिर्ता पाउनुपर्ने माग स्थानीयवासीको छ ।

२०६६ सालमा सहकारी डिभिजन कार्यालय जनकपुरमा सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नामले सहकारी दर्ता भएको थियो । संस्था सञ्चालक समितिमा जनकपुरका मनोजकुमार शर्मा, कृष्णकुमार साहलगायत छन् । विगत ५ वर्षदेखि संस्थाको लेखा परीक्षणसमेत नगरिएको थाहा हुन आएको छ ।

जिल्ला सहकारी संस्थाका धनुषा अध्यक्ष ध्रुवनारायण यादवले सहकारी सञ्चालकको बचाउ गर्दै भने–“सर्वसाधारणले संस्थाको गतिविधिमा निगरानी नराखी पैसा बचत गर्नु गलत हो ।” डिभिजन सहकारी कार्यालय प्रमुख रवीन्द्रकुमार यादवले सर्वसाधारणको पैसा डुबाउने सहकारीलाई प्रशासनिक कारबाही गरिनुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सहकारीले सर्वसाधारणको रकम ठगी गरेको विषयमा छानबिन भइरहेको बताए ।

सञ्चालक पुनम साहको नाममा रहेको जायजेथा जमिन बेचेर बचतकर्ताको पैसा तिर्न उनका परिवारसँग छलफल भइरहेको उनको भनाइ छ । यसरी बुझ्दा जिल्लामा डिभिजन सहकारी कार्यालयमा अधिकारिकरुपमा दर्ता नै नभएका सहकारीले पनि दैनिकरुपमा बचत सङ्कलन गर्ने र ऋण लगानी गर्ने गरेकाले सर्वसाधारणलाई ठग्ने क्रम बढेको हो ।

यसअघि पनि चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड यज्ञभूमिका अध्यक्ष विजय साहले सदस्यको करिब एक करोडभन्दा बढी रकम लिएर फरार भएका छन् । साहले सहकारीको सञ्चालक समितिमा आफ्नै नातागोताका सदस्य राखेर ऋण लगानी गर्ने, बचत सङ्कलन गर्ने गर्दै आएका थिए ।

सो संस्थामा आबद्ध करिब एक हजार जति सदस्यले बचत गरेको ऋण र सहकारी विकास बैंकबाट सङ्कलन गरेको ऋण रकम लिएर साह फरार भएका हुन् । यसैगरी सहमति सहकारी संस्था लिमिटेड सबैलाका अध्यक्ष सञ्जय साहले एकजना भारतीय व्यक्तिसँग करिब १० लाख रकम सेयरका रुपमा असुल गरी सेयर प्रमाणपत्रसहित नगदी रसिद पनि दिएका छन् ।

डिभिजन सहकारी कार्यालय धनुषाका सहकारी निरीक्षक रामपृत यादवले यस्तो कार्य सहकारी ऐन विपरीत रहेको बताए । यस्ता दर्जनौँ सहकारीको नाममा ठगीका उदाहरण र गुनासा आफूहरुसँग रहेको निरीक्षक यादवले बताए ।

जिल्लामा दर्ता नै नभएका करिब ५० भन्दा बढी सहकारी संस्था बचत सङ्कलन गर्ने, कर्जा लगानी गर्ने काम गरिरहेको र उनीहरु मध्येबाट नै ठगी हुने गरेको बचत तथा ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले बताए । डिभिजन कार्यालयबाट यस्ता संस्थालाई कार्वाही नहुँदा उनीहरुको मनोबल बढेको यादवको भनाइ छ ।

जिल्लामा यस आवसम्ममा बचत तथा ऋण सहकारी संस्थाका रुपमा जम्मा तीन सय १५, कृषि सहकारी संस्थाका रुपमा तीन सय २३, पुरानो बहुउद्देश्य सहकारीका रुपमा २५, नयाँ बहुमुखी उद्देश्यका रुपमा ४४, उपभोक्ता सहकारीका रुपमा ८२, साना किसान सहकारीका रुपमा १७, दुग्ध उत्पादकका रुपमा १८, उखु उत्पादकका रुपमा २३, मत्स्य सहकारीका रुपमा १३, तरकारी तथा फलफूल सहकारीका रुपमा एउटा, लघु उद्यमीका रुपमा ६, विद्युत् सहकारीका रुपमा ४० र बहुउद्देश्यका रुपमा ३७ सहकारी संस्था दर्ता भएका छन् ।

सहकारीलाई दिइने अनुदानको पनि यस क्षेत्रमा अत्यधिक दुरुपयोग भएको छ । जुन उद्देश्यका साथ सहकारीले अनुदान प्राप्त गरेको हुन्छ त्यो अनुरुपको कामै नगरी सहकारी सञ्चालकले रकम पचाउने गरेको विभिन्न उदाहरण यस जिल्लामा रहेका छन् ।

 

You might also like More from author