तनावपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित

0 2

football

काठमाडौ, चैत १ । तनावपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आफ्ना तीन स्ट्राइकर जाल्टन इब्राहिमोभिक, वायने रोनी र एन्थोनी मार्सलको अनुपस्थितिमा चेल्सीको स्ट्याम्पफोर्ड ब्रिजमा उत्रिँएको म्यानचेस्टरलाई त्यतिबेला गहिलो धक्का लाग्यो, जब पहिलो हाफको ३५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर एन्डर हेरेरा पनि मैदान छोड्न बाध्य भए।

पहिलो हाफको खेल सकिन १० मिनेट बाँकी हुँदा रेफ्रिले दिएको यो निर्णयको विषयमा ठूलो विवाद भएको थियो। चेल्सी प्रशिक्षकबाट गत अक्टोबरमा बर्खास्त भएपछि पहिलो पल्ट स्ट्याम्पफोर्ड ब्रिजमा बलियो प्रतिद्वन्दी बोकेर आएका जोसे माउरिन्हो अस्वभाविक रुपमा आक्रामक बनेका थिए। टच लाइनमा उनी रेफ्रिसँग मात्र होइन, प्रतिद्वन्दी चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेसँग मुखामुख पनि लागे।

चेल्सीका लागि ५१ मिनेटमा एनगोलो कान्टेले विजयी गोल गरे। चेल्सीको एफए कपमा यो २२ औं सेमिफाइनल प्रवेश थियो। अब ब्लुजले सेमिफाइनल खेल टोटेनहामसँग खेल्नु पर्नेछ।

प्रतिबन्धका कारण यस खेलमा म्यानचेस्टरले इब्राहिमोभिकलाई गुमाउनु परेको थियो। रोनी अभ्यास सत्रमा र मार्सल पहिले नै घाइते भएपछि रेड डेभिल्स आफ्नो तीन स्ट्राइकर बिनै मैदानमा उत्रिएको थियो।

५५ मिनेट विपक्षी टोलीको घरमा १० खेलाडीमा सिमित भएर खेलेको म्यानचेस्टरका लागि महंगा खेलाडी पाउल पोग्बाले नेतृत्व गरेका थिए। तर, उनी एक्लै त्यति प्रभावकारी देखिएनन्। बरु चेल्सीका गोलरक्षक थिबाउट कोर्टोइसले म्यानचेस्टरका प्रहार रोकेर आफूलाई हिरो साबित गरे।

चेल्सीको २०१२ यता म्यानचेस्टरविरुद्ध लगातार १२ खेलको अपराजित यात्रा हो। यस अवधिमा चेल्सीले ७ पल्ट म्यानचेस्टरलाई पराजित गरेको छ। आर्सनल, फुलहाम यसअघि नै सेमिफाइनल प्रवेश गरेको सन्दर्भमा २००२ पछि लन्डनका तीन क्लब एफए कपको सेमिफाइनलमा प्रवेश गरेका हुन्। माउरिन्होले म्यानचेस्टरको नेतृत्व सम्हालेपछिको यो तेस्रो रातो कार्ड थियो, जसमा दुईवटा रातो हेरेराले नै पाइसकेका छन्। सा भा जनबोली

You might also like More from author