ओलीले देउवालाई भनेः दाहालबाट चुनाव सम्भव छैन, सरकारको विकल्प सोच्नुस्

0 7

sher-bahadur-Dauba-and-Kp-oli

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीले कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यस विषयमा पुनर्विचार गर्न आग्रह गरे ।

ओलीले आइतबार बिहान सत्ताको मुख्य घटक कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरी निर्वाचनमा जोड दिएका थिए । स्रोतले भन्यो, ‘दाहालबाट कुनै पनि हालतमा कुनै पनि निकायको निर्वाचन हुन नसक्ने हुँदा वर्तमान सरकारको विकल्प सोच्नुपर्‍यो । संविधान कार्यान्वयनका लागि कांग्रेस गम्भीर हुन नसके राष्ट्र ठूलै दुर्घटनातर्फ धेकेलिन सक्छ ।’ प्रत्युत्तरमा देउवाले आफूले यस विषयमा कांग्रेसमा कुरा गर्ने बताए ।
यसैबीच कांग्रेस सभपाति देउवा र प्रधानमन्त्री दाहालबीच संविधान संशोधन, स्थानीय निर्वाचनलगायत विषयमा गम्भीर छलफल भएको जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ । प्रतिपक्षी दलका नेता ओलीसँगको टेलिफोन वार्तापछि प्रधानमन्त्री दाहालसँग भेट्न पुगेका देउवालाई दाहालले संविधान संशोधन र निर्वाचनको वातावरण सिर्जना गर्न विशेष भूमिका निर्वाह गर्न आग्रह गरे ।

देउवाले आगामी वैशाखमा स्थानीय निर्वाचन गराउन र त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न परिर्माजनसहितको संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिएको स्रोतले बतायो ।

You might also like More from author