मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना

0 15

ramechhap-map

काठमाडौं, २४ माघ । रामेछापको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा भित्र पसी पूजा गरेको विषयमा एक दलित युवालाई डण्ड जरिवाना गरिएको छ । स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले पुजारीद्वय गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ जरिवाना असुल गरेका छन् । शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ ।

मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियको छ । कृष्णकुमारले पाठी बलि दिन पाएनन् । त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो । दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो । छलफलमा कृष्णबहादुरको गल्ती ठहर्‍याइयो ।
मन्दिरमा रुद्री लगाएर चोखो नपारी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ जरिवाना माग गरे । उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार रुपयाँ जरिवाना दिए । पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए । उनका अनुसार अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ । डिएसपी ढुंगेलले प्रहरी चौकीबाट मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गरिने बताएका छन् ।