चार महिनामा २ सय ४४ उद्योग थपिए

0 21

काठमाडौं, पुस १० । चालू आर्थिक वर्ष २०७३ ७४ को पहिलो चार महिनामा २४४ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र स्वदेशी लगानीमा गरी दर्ता भएका यी उद्योगमा आठ अर्ब ६८ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाइएको छ । विभागका अनुसार दर्ता भएका सबै उद्योग सञ्चालनमा आएमा १० हजार नयाँ रोजगारी थपिनेछ ।

उद्योगी व्यवसायीहरूले नेपालमा लगानीमैत्री वातावरण नभएको बताइरहँदा उद्योग दर्ताको अवस्था भने उत्साहजनक नै मान्न सकिन्छ । गत आवको सोही अवधिमा ७ अर्ब २ करोड रुपैयाँ लगानीसहित एक सय ७७ उद्योगमात्रै दर्ता भएका थिए । लगानीको प्रतिबद्धताका हिसाबले पनि चालू वर्ष गतको वर्षको तुलनामा उत्साहजनक छ ।

विभागका अनुसार कृषि तथा वनजन्य, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटनमूलक क्षेत्रमा उद्योग थपिएका छन् । पर्यटन क्षेत्रमा बढ्दो आकर्षणसँगै उद्योग दर्ता पनि बढेको छ । पर्यटनमा ८९, सेवा क्षेत्रमा ७९, उत्पादनमूलक ५६, ऊर्जामूलक नौ, कृषिजन्य आठ, खनिज दुई र निर्माणमा एक उद्योग दर्ता भएको छ ।

लगानीका हिसाबले भने ऊर्जामूलक क्षेत्रमा पाँच अर्ब २२ लाख रुपैयाँ लगानी हुनेछ । सेवाक्षेत्रमा एक अर्ब, उत्पादनमूलकमा डेढ अर्ब लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

उद्योगमा विभागमा दुई अर्ब रुपैयाँभन्दा कम लगानीका विदेशी लगानी स्वीकृत गर्ने प्रावधान छ । दुईदेखि १० अर्ब रुपैयाँका लगानी औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी बोर्डमार्फत भित्रने गरेको छ । विभागका अनुसार कुल रकममध्ये ३ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता छ ।

गत आवमा कुल १५ अर्बको प्रतिबद्धता प्राप्त भएएको थियो । नेपालमा एफडीआईका लागि आर्थिक वर्ष २०७१र७२ लाई सबैभन्दा राम्रो वर्ष मानिएको छ । विभागमार्फत नै सो वर्ष ६७ अर्ब रुपैयाँको एफडीआई स्वीकृत भएको थियो । प्रतिबद्धताबमोजिम लगानी भित्रियो या भित्रन सकेन भन्ने सम्बन्धमा उद्योग मन्त्रालय वा विभागबाट कुनै पनि अध्ययन हुन नसक्दा वास्तविक लगानी अन्योलमा छ ।

विभागका निर्देशक दुर्गाप्रसाद भुसालले विदेशी लगानी स्वीकृत भएपछि बढीमा ३५ दिनभित्र उद्योग दर्ता गर्नुपर्ने प्रावधान रहेको जानकारी दिए । एक वर्षमा उद्योग सञ्चालन गरिसक्नु पर्ने कानुनी व्यवस्था भए पनि कतिपयले लगानी जुटाउन नसक्दा थप समय माग्ने गरेका छन् । सरकारपिच्छे फेरिने नीतिगत व्यवस्थाका कारण स्वदेशी तथा विदेशी लगानी प्रभावित भएको सरोकारवालाको भनाइ छ ।

You might also like More from author