इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५, आज क्रिसमस मनाईदै

0 34

women-voilence

काठमाडौ, पुस १० । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ , आज क्रिसमस मनाईदै छ । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो ।

मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ ।
यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको छ ।