कोरियामा महाअभियोग पारित नभए विपक्षी दलका सांसदले राजीनामा दिने

0 11

सिउल, २४ मंसिर । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँका प्रमुख विपक्षी दलका संसद्ले राजीनामा दिने बताएका छन् ।

महाअभियोग प्रस्ताव पारित नभएमा नेसनल एसेम्बलीमा प्रमुख प्रतिपक्ष्ँ दल मिन्जु पार्टीका सम्पूर्ण सांसदले संसद् सदस्यबाट संयुक्त राजीनामा दिने बताएका हुन् ।

नेसनल एसेम्बलीमा सबभन्दा ठूलो प्रतिपक्षी दल मिन्जु पार्टीका संसदीय नेता ऊ साङ्होले राष्ट्रपति विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित नभए आफ्नो पार्टीका सबै सांसद राजीनामा दिन तयार रहेको बताएका हुन् ।

राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्तावमाथि शुक्रबार संसद्मा मतदान हुँदै छ । नेसनल एसेम्बलीमा तीन सयजना सांसद छन् । महाअभियोग प्रस्ताव पारित हुन कम्तीमा दुईतिहाइ अर्थात दुई सय मत आवश्यक पर्छ । तर, विपक्षी गठबन्धनमा एक सय ७२ मात्र सांसद् छन् ।

वर्तमान राष्ट्रपति पार्कको दल साएनुरी पार्टीसँग एक सय २८ जना सांसद छन् । सो महाअभियोग प्रस्तावको भाग्य र भविष्य सत्तारुढ दल साएनुरी पार्टीका २८ जना सांसदसँग जोडिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।